ठूलाखेतका पहिरो पीडित पौडेलः ‘पोहोर जर्वजस्ती सडक खने,अहिले पहिरामा घर बग्यो’

हिमाली आवाज । बुधबारतिको अविरल वर्षाका कारण पोखरा महानगरपालिका—२३ ठूलाखेतमा पहिराले स्थानीय विष्णुप्रसाद पौडेलको घरमा क्षति पुगेको छ ।

राति अन्दाजी ११ बजेको समयमा पहिरो जाँदा डाँडामा रहेको पौडेलको घरका दुई कोठा र सामान बगाएको हो । त्यसैगरी गोठमा समेत क्षति पुगेको छ । पहिराले अहिले पौडेलको घर भीरमा झुण्डिएपछि विस्थापित हुनुपर्ने अवस्था छ ।

ठूलाखेतस्थित हल्लनचोक—घाँटीछिना सडकको माथिबाट पहिरो खसेको हो । गत वर्ष सडक स्तरोन्नति गरेर कालोपत्र गर्ने क्रममा नाला बनाउँदा भिरालो जमिन बढी कटान गरेपछि अहिले सोही ठाउँमा पहिरो गएर आफू विस्थापित हुनुपर्ने अवस्था आएको पीडित पौडेलले बताउनुभयो ।

विगतमा समेत पहिराले क्षति गरेपछि रोक्न पर्खाल लगाइएको स्मरण गराउँदै उहाँले सो स्थानमा धेरै फराकिलो सडक नखन्न आग्रह गरेको स्मरण गर्नुभयो ।

“मेरो घरमुनिको जमिन कमजोर छ,नाला बनाउँदा भित्तापट्टी धेरै नखोर्स भनेर विन्ति गर्दा समेत मानेनन् । उनीहरुले जर्वजस्ती नाला खनी छाडे, त्यसैले गर्दा अहिले पहिराले मेरो घर, गोठ बगायो ।” पौडेलले दुखेसो पोख्नुभयो ।

बुधबार राति पहिरो जाँदा पौडेल छोरासँगै घरमा हुनुहुन्थ्यो । छोरा हिजोमात्र घरमा आएको घटना हुँदा सँगै भएकाले समेत डर कम भएको उहाँले बताउनुभयो । परिवारका छोरा,बुहारी र नातिनातिना बजार बस्ने गर्दछन् । पहिराले घरमा क्षति पुगेपछि उहाँ बासका लागि चिन्तित हुनहुन्छ ।

पौडेलले भन्नुभयो,“दुःख गरेर कमाएको पैसाले यहाँ आएर बस्न थालेँ । अहिले बुढेसकालमा घरबारविहिन बन्नु पर्ने अवस्था आयो । हामीलाई कसले हेर्छ खै ?”

ठूलोखेतको सो पहिराका कारण अन्य तीन घर समेत जोखिममा पर्ने अवस्था आएको स्थानीय सागरराज तिमिल्सिनाले बताउनुभयो । उहाँले भन्नुभयो,“अहिले एक घरमा मात्र क्षति पुगेको छ, बर्खायाम अझै नसकिएकाले तत्कालै पहिरो नियन्त्रणको काम नगरे यस टोलका अन्य घरमा समेत जोखिम पुग्ने देखिएको छ । ”गएरातिको वर्षाका कारण कास्कीका विभिन्न स्थानमा क्षति पुगेको छ । वर्षाका कारण ग्रामिण सडक अवरुद्ध भएका छन् ।

Comments
Loading...