पोखराका ट्याक्सी चालक मिटरमा चल्न थाले,अनुगमनमा यातायातमन्त्री जुग्जाली

—कृष्ण दवाडी
हिमाली आवाज । पोखरा उपत्यकता भित्र सञ्चालन हुने भाडाका ट्याक्सीहरु आजदेखी मिटरमा चलेका छन् ।
गण्डकी प्रदेश सरकारले भदौ १ गतेदेखी अनिवार्य मिटरमा सञ्चालन हुनुपर्ने नियम बनाएपछि पोखरा बजारभित्र सञ्चालन हुने अधिकाँस ट्याक्सी मिटरमा चलेको पाइएको हो ।

प्रदेश सरकार मातहतको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय मातहतको यातायात व्यवस्था कार्यालय सवारी कास्कीले ट्याक्सीहरुलाई मिटर अनिवार्य गरेको हो ।ट्याक्सीले मिटर चलाएर यात्रु बोके÷नबोकेको अनुगमनका लागि भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री रेशमबहादुर जुग्जाली आफै सडकमा निस्कनुभएको थियो ।

पोखराको औद्योगिक क्षेत्र, विमानस्थल प्रवेशद्धार तथा पृथ्वीचोक लगायतमा स्थानमा विहानदेखीनै मन्त्रालय, यातायात कार्यालयका कर्मचारी सहित ट्राफिक प्रहरी अनुगमनका लागि खटिएका थिए ।

पर्यटकीय शहर पोखरामा मिटरमा ट्याक्सी सञ्चालनका लागि वर्षोदेखी पहल भएपनि कार्यान्वयन हुन सकेको थिएन । विसं २०७७ मानै यहाँका अधिकाँस ट्याक्सीमा मिटर जडान गरिएपनि कार्यान्वयनमा आउन सकेको थिएन ।मिटरमा ट्याक्सी नचल्दा यात्रुहरु ठगिएको र चर्को भाडा तिनुपर्ने परेको व्यापक गुनासाहरु आएका थिए ।

यातायात व्यवस्था कार्यालयका प्रमुख डिल्लीराम रिज्यालले कार्यान्वनयको पहिलो दिनमा अधिकाँसले ट्याक्सी मिटरमा सञ्चालन गरेको पाइएको बताउनुभयो । उहाँका अनुसार विविध कारण देखाएर सञ्चालनमा नभएका एका÷दुई ट्याक्सी चालकलाई सचेत गराइएको र आगामी दिनमा प्रभावकारी कार्यान्वयन गरिने बताउनुभयो ।

यातायात व्यवस्था कार्यालय सवारीले साउन ३० गते सार्वजनिक सूचना जारी गरी भदौ १ गतेदेखी अनिवार्यरुपमा विलिङ सहितको मिटर जडित ट्याक्सी सञ्चालन गर्न र मिटरमा बिल अनुसारको भाडा लिने गरी सेवा सञ्चालन गर्न सूचना निकालेको थियो । कार्यालयले मिटरमा नहिँड्ने ट्याक्सी चालकहरुलाई कारवाही हुने समेत स्पष्ट पारेको छ ।

कार्यालय प्रमुख रिज्यालले भन्नुभयो,“पोखरामा ट्याक्सी मिटरमा सञ्चालन हुन सुरु भयो । राम्रोसँग कार्यान्वयन भएको पाइएको छ । मिटरमा सञ्चालन भए ÷नभएको बारेमा नियमित अनुगमन गर्ने गरी समिति बनाएका छौँ ।”

ट्याक्सी मिटरमा चल्नका लागि प्रदेश सरकारले भाडा समेत तोकेको छ ।समायोजन गरेको पछिल्लो भाडा अनुसार १५ किमीभित्र यात्रा गर्दा सुरुआती दुई सय मिटरसम्मको रु ८० र त्यसपछि प्रति दुई सय मिटर बराबर रु १० कायम गरिएको छ । त्यसैगरी १५ किमीभन्दा बढी यात्रा गर्दा प्रतिकिमी रु ३७।५० का दरले भाडा लिनुपर्नेछ ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री जुग्जालीले प्रदेश सरकारले विसं २०७७ मा ट्याक्सी मिटरमा सञ्चालन गर्न सुरु गरेपनि लागू नभएको बताउनुभयो । उहाँले अब लागू गरेरै छाड्ने प्रतिवद्धता जनाउनुभयो ।मन्त्री जुग्जालीले भन्नुभयो,“पहिला किन लागू भएन भनेर समेत हामीले समिक्षा समेत गरेका छौँ । अहिले लागू भएरै छाड्छ ।”

चालक मिटरमा चले÷नचलेको अनुगमनका लागि मन्त्रालय, यातायात कार्यालय, जिल्ला प्रशासन र ट्राफिक प्रहरीको प्रतिनिधित्व हुने गरी अनुगमन समिति बनाइएको जानकारी मन्त्री जुग्जालीले दिनुभयो ।

ट्याक्सी चालकहरुले समेत मिटरमा चल्न कुनै अप्ठ्यारो नभएको बताएका छन् । इन्धनको भाउ घटबढ हुँदा पनि स्वचालित रुपमा भाडादर कायम हुने व्यवस्था प्रदेश सरकारले गर्नुपर्नेमा ट्याक्सी चालक जीवन बरालले बताउनुभयो ।

Comments
Loading...