सुन काण्डको छानविनका लागि उच्चस्तरीय समिति आवश्यक छैन : गृहमन्त्री श्रेष्ठ

हिमाली आवाज । नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन काण्डको अनुसन्धानलाई अन्तिम निष्कर्षमा पु¥याएर यसको नेटर्वकको पहिचान गरी दोशीमाथि कारवाही गरिने बताउनुभएको छ ।

राज्यको व्यावसायिक, पेशागत रुपमा दक्ष र जिम्मेवार संरचना र संयन्त्रहरुले काम गरिरहेकाले सुन काण्डको अनुसन्धानका लागि अर्को उच्चस्तरीय समिति बनाउन आवश्यक नरहेको उहाँले उल्लेख गर्नुभयो ।

प्रेस सेन्टर नेपाल कास्कीले आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाटमा गृहमन्त्री श्रेष्ठले सुन काण्डको सिआइवीले अनुसन्धानको प्रक्रिया अघि बढाउदा दोशीहरु पत्ता लाग्ने र उनीहरुलाई कानुनको दायरामा ल्याउन सकिने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो,“यससघि यस्तै काण्डमा संसदबाट समिति बनाइएयो, समितिको रिपोर्ट आयो, सिद्धियो । अर्को एकपटक केपी ओली प्रधानमन्त्री भएका बेला ३३ केजी सुनकाण्डका लागि छानविन समिति बनाइयो, समितिको रिर्पोट आयो अन्य केही पनि आएन । न सुन आयो, न सिफारिस कार्यान्वयन भयो । त्यसैले हामीले अनुसन्धानका लागि विकसित गरेका हाम्रा दक्ष संरचनाले अनुसन्धान र अभियोजनको दुबै प्रक्रिया अघि बढाउछ, त्यसैलाईनै जिम्मेवारी दिनु उपयुक्त हुन्छ ।”

गृहमन्त्री श्रेष्ठले सुशासन र भ्रष्टाचार विरुद्धको अभियान अघि बढाउने प्रक्रियाले निरन्तरता पाइरहेको बेलामा प्रमुख प्रतिपक्षी दलबाट संसद अवरोध हुनु दुःखद् भएको उल्लेख गर्नुभयो । उहाँले सरकारको अभियानमा सबै पक्षले साथ र सहयोग गर्नु आवश्यक रहेकामा जोड दिनुभयो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सम्पूर्ण सुरक्षा र व्यवस्थापनलाई समिक्षा गरेर नयाँ नीति र योजना अनुसार अगाडि बढाउने योजना रहेको गृहमन्त्री श्रेष्ठले बताउनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) नेतृत्वको वर्तमान गठवन्धन सरकारलाई अझै व्यवस्थित गरेर निरन्तरता दिइने बताउनुभयो ।
उहाँले भन्नुभयो,“ सरकारले चालेको कदम पुनै पनि हालतमा विश्राम हुँदैन । गठबन्धनको सरकारलाई पनि अझ व्यवस्थित ढङ्गले अगाडि बढाउने ,निरन्रता दिने र सरकारले अहिले चालेको सुशासनको अभियान जुन समृद्धिको आधारका लागि गरिरहेका छौँ, त्यसलाई पनि निरन्तरा दिने गरी अघि बढेका छौँ ।”

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहनुभएका गृहमन्त्री श्रेष्ठले पार्टीले तय गरेको रुपान्तरण अभियानको तयारीका लागि हाल देशभर पार्टीका बैठकहरु सञ्चालन भइरहेको जानकारी दिनुभयो ।गृहमन्त्री श्रेष्ठ पार्टीको गण्डकी प्रदेशको सातौँ पूर्ण बैठकका लागि विहान पोखरा आउनुभएको हो ।

Comments
Loading...