पोखराका थप तीन वडामा शहरी स्वास्थ्य केन्द्र सञ्चालन हुँदै

हिमाली आवाज । पोखरा महानगरपालिकाले स्वास्थ्यमा नागरिकको पहुँच वृद्धि गर्ने उद्देश्यले थप तीन वडामा शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याउने भएको छ ।

नागरिकलाई घरआँगनमा नै स्वास्थ्य सेवाको पहुँच विस्तार गरी आधारभुत स्वास्थ्य उपचार सेवा प्रदान गर्ने उद्धेश्य राखिएको छ । हाल महानगरमा २३ वटा शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा छन् ।

महानगरले वडा नं १९ को लामाचौर, वडा नं २१ र वडा नं २४ को बास्कोटमा शहरी स्वास्थ्य केन्द्र स्थापना कार्य अघि बढाएको हो ।
लामाचौर र वडा नं २१ मा शहरी स्वास्थ्य केन्द्रका लागि पूर्वाधार तयार भइसकेकाले आवश्यक जनशक्ति र साधन स्रोत व्यवस्था गरी छिट्टै सञ्चालमा आउने महानगर स्वास्थ्य महाशाखाका वरिष्ठ अधिकृत हरिलाल आचार्यले बताउनुभयो ।

उहाँले भन्नुभयो,“नागरिकलाई आधारभुत स्वास्थ्य उपचार सेवा शहरी स्वास्थ्य केन्द्रहरुबाट उपलव्ध हुन्छ । थप तीन वटा स्वास्थ्य केन्द्र सञ्चालनको काम सुरु भएको छ ।”

कास्कीकोटको बास्कोटमा पूर्वाधार निर्माण कार्य शुरु भएको छ । बास्कोट सहरी स्वास्थ्य केन्द्र भवन रु चार करोड लागतमा निर्माण हुँद्येछ । सो केन्द्र भवन दुई वर्षभित्र निर्माण सम्पन्न गरिने महानगरले जनाएको छ ।

दुई तलाको सुविधासम्पन्न सो शहरी स्वास्थ्य केन्द्रको भवनलाई भविष्यमा शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा स्तरोन्नति गर्ने महानगरको योजना रहेको छ । सो वडामा हाल स्वास्थ्य चौकी सञ्चालनमा रहेको छ ।

पोखरा— २४ को तल्लो भाग र वडा नं.२३ तथा अन्नपूर्ण गाउँपालिकाको केही क्षेत्रका बासिन्दाहरूले समेत लाभ लिन सहज हुने सो केन्द्र सुविधा सम्पन्न बनाइने महानगरले जनाएको छ ।महानगरका वडाहरूमा ल्याव परिक्षण सहितका शिविरहरू सञ्चालनका अभियानहरू समेत थालिएको छ ।

पोखरा— २४ का वडाध्यक्ष भरत बहादुर अधिकारीले बास्कोटमा स्वास्थ्य केन्द्र निर्माणले त्यस क्षेत्रका नागरिकहरूलाई सुविधा हुने बताउनुभयो । सामान्य स्वास्थ्य सम्बन्धी भएपछि पोखरा बजार नै पुग्नु पर्ने बाध्यताको अन्त्य हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

पोखरा महानगर मातहतमा हाल एक अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र दुई, शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र एक, स्वास्थ्यचौकी १९ र शहरी स्वास्थ्य केन्द्र २३ वटा सञ्चालमा छन् ।

Comments
Loading...