हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का सचिव एवं गण्डकी प्रदेशका इन्चार्ज देवेन्द्र पौडेलले आगामी भदौ १६ गतेदेखी देशभर सुरु हुने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’लाई प्रभावकारी बनाउने गरी खटिन नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) पोखरा महानगर समितिको दोस्रो विस्तारित बैठकलाई आज पोखरामा सम्वोधन गर्दै उहाँले पार्टीले तोकेको वडा र प्रत्येक घरमा पुगेर वर्तमान सरकारले सुशासन र समृद्धिका लागि गरेका कामहरु जनतालाई बुझाउँदै जनताबाट सुझाव लिन उहाँले आग्रह गर्नुभयो ।
रुपान्तरण अभियानका लागि पार्टीका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरुलाई पालिकामा र प्रदेश सदस्यहरुलाई वडामा जिम्मेवारी दिएर खटाइएको नेता पौडेलले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,“पार्टी पुनःनिर्माणको सङ्कल्प गरेर जनतामा जाने निर्णय गरेका छौँ । अभियानका क्रममा हामी प्रदेशका सबै वडा वडामा जान्छौँ । केन्द्रीय समितिका सदस्यहरु र प्रदेशका पदाधिकारीहरु पालिकामा,प्रदेशका सदस्यहरु वडामा जाने र अभियानको नेतृत्व गर्ने गरी जिम्मेवारी तोकेका छौँ ।अभियानले पार्टीलाई नयाँ उचाईमा लैजाने विश्वास लिएका छौँ । ”

पार्टीलाई देशको प्रमुख पार्टी बनाउने आशा र विश्वासका साथ लाग्न उहाँले विशेष आग्रह गर्नुभयो । अभियानका क्रममा हरेक कार्यकर्ताले तीन जना पार्टी सदस्य थप गर्नुपर्ने उहाँले बताउनुभयो ।
“हाम्रा नेता कार्यकर्ताहरु पार्टी बन्दैन भनेर निराश हुन्छन् । पहिल्यै पार्टी बन्दैन भनेर निराश भएपछि कसरी पार्टी बन्छ? यसरी निराश होइन, आशा र विश्वासका साथ पार्टी बनाउन लाग्नुभयो भने पार्टी अहिलेभन्दा सुदृढ हुन्छ।”इन्चार्ज पौडेलले भन्नुभयो ।
माओवादी पोखरा महानगर समितिले तीन महिने अभियानका लागि कार्य योजना बनाएर जनतामाझ जाने कमिटीका अध्यक्ष हरिनारायण गिरीले बताउनुभयो । महानगरका ३३ वटै वडाका प्रत्येक घरहरुमा पुग्ने गरी कार्ययोजना बनाइएको उहाँले जानकारी दिनुभयो ।
बैठकमा माओवादी केन्द्र कास्कीका इन्चार्ज नेत्रनाथ अधिकारी, महानगरका इन्चार्ज पारशमणि पौडेल, महानगर कमिटीका सचिव जनकराज अधिकारी लगायतले भौगोलिक रुपमा देशकै सवैभन्दा ठूलो पोखरा महानगरमा अभियानलाई व्यवस्थित र भव्य बनाउने गरी फिल्डमा खटिन नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको थियो ।