हिमाली आवाज । कास्कीको मादी गाउँपालिकाको पर्यटकीय सिक्लेस जाने सडक एकसातादेखी अवरुद्ध हुँदा स्थानीयवासीले सास्ती पाएका छन् ।
मादी गाउँपालिका—६ चिप्लीखोलामा गएको पहिराले काहुँखोला—सिक्लेस सडकखण्ड पूर्णरुपमा अवरुद्ध छ । सडक अवरुद्ध हुँदा मादीका उत्तरी गाउँहरुका नागरिकहरु पोखरा आउजाउ गर्न दुःख पाएका हुन् ।
मादी—६ का वडाध्यक्ष डिलबहादुर क्षेत्रीले पानी परिरहेकाले सडक खुलाउन समस्या भएको बताउनुभयो । पहिरो खस्ने क्रम नरोकिएकाले पानी बन्द भएपछि मात्र खुलाउने तयारी भएको उहाँले बताउनुभयो ।
वडाध्यक्ष क्षेत्रीले भन्नुभयो,“पहिरो निरन्तरजसो खसिरहेको छ । अहिले विहान सफा गर्यो, पुनः साँझ अवरुद्ध हुँदा पालिकाको साधन स्रोत मात्र खर्च हुने गरेकाले पानी बन्द भएपछि मात्र खुलाउने योजनामा छौँ । यात्रुहरुले सवारी परिवर्तन गरेपछि गन्तव्यमा पुग्ने गरी व्यवस्था मिलाएका छौँ ।”

सडक अवरुद्ध भएकाले यात्रुहरुले गन्तव्यमा पुग्नका लागि दुई वटा गाडी परिर्वतन गर्नुपर्ने बाध्यता छ । पहिरो गएको स्थानसम्म पोखराबाट गएर झोलुङ्गे पुल हुँदै १० मिनेटको बाटो हिँडेपछि अर्को सवारी साधनमा चढेर गन्तव्यमा पुग्नुपर्ने अवस्था छ ।
पहिराले ७० मिटर जति सडकमा क्षति पुगेको छ । पहिरो हटाउने कार्यका लागि गाउँपालिकाबाट लागत इस्टिमेट तयार गरिएको वडाध्यक्ष क्षेत्रीले जानकारी दिनुभयो ।
पोखराको काहुँखोलादेखी सिक्लेस ४२ किमीको दूरीमा पर्दछ । पहिराका कारण मादीका उत्तरी गाउँ चिप्ली, खिलाङ, पार्चे र सिक्लेसका नागरिकहरु समस्यामा परेका छन् । सवारी साधनमा काँहुखोला, कसेरी, थाक, तप्राङ, चिप्ली, पार्चेहुँदै सिक्लेस पुग्न सकिन्छ ।
सिक्लेस पर्यटकीय हिसावले समेत प्रख्यात छ । गुरुङ संस्कृतिको अध्ययन अवलोकनका लागि पर्यटकहरु आन्तरिक तथा बाह्य पर्यटकरु पुग्ने गर्दछन् ।