हिमाली आवाज । समाजवादी मोर्चा नेपालको गण्डकी प्रदेश संयोजन समिति गठन गठन गरिएको छ ।
पोखरामा भोली भदौ १५ गते हुने प्रदेशस्तरीय सन्देश सभाको अघिल्लो दिन मोर्चामा आवद्ध पार्टीबाट तीन÷तीन जना सदस्य रहने गरी प्रदेश समिति गठन गरिएको मोर्चाले आज पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको हो ।
नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का सचिव एवं गण्डकी प्रदेशका इन्चार्ज देवेन्द्र पौडेलले पत्रकार सम्मेलनमा मोर्चाको प्रदेश समिति घोषणा गर्नुभयो ।
मोर्चामा नेकपा माओवादी केन्द्रबाट गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङ, ज्ञानमान गैरे र जगन्नाथ खनाल सदस्य हुनुहुन्छ ।नेकपा एकीकृत समाजवादीबाट केशवलाल श्रेष्ठ, श्रीनाथ बराल र प्रतापलाल श्रेष्ठ, जनता समाजवादी पार्टीबाट गोपाल गुरुङ, निर्मल जिसी र रमेश नेपाली मोर्चामा रहनुभएको छ ।

यसैगरी विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट राजन सी, दिपा सी र काजी सी रहनुभएको छ । सचिव पौडेलका अनुसार मोर्चा समितिको अध्यक्षता आलोपालो प्रणाली अन्तर्गत हाललाई माओवादी केन्द्रका प्रदेश अध्यक्ष गुरुङले गर्नुहुनेछ ।
मोर्चाले प्रदेशका ११ वटै जिल्लामा हरेक पार्टीबाट दुई÷दुई जनाको प्रतिनिधित्व हुने गरी जिल्ला सयोंजन समिति पनि गठन गरिने जनाइएको छ ।
यसैगरी मोर्चाले भोली भदौ १५ गते पोखरा सभागृहमा आयोजना गर्ने सन्देश सभाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।सो सभालाई प्रधानमन्त्री एवं नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द(विप्लव)ले सम्वोधन गर्नुहुने कार्यक्रम रहेको छ ।
समाजवादी मोर्चाले देशका सात वटै प्रदेशमा सन्देश सभा गर्ने निर्णय अनुसार गण्डकीमा गर्न लागिएको हो । मोर्चाले मधेश प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा सन्देश सभा सम्पन्न गरिसकेको छ ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादका मौलिक विशेषताहरुको पहिचान गरी समाजवादको नेपाली बाटो तय गर्ने प्रतिबद्धताका साथ समाजवादी मोर्चा स्थापना भएको सचिव पौडेलले बताउनुभयो ।