हिमाली आवाज । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले सुशासन र समृद्धिको यात्रामा सरकार अघि बढेको बताउनुभएको छ ।
समाजवादी मोर्चा, नेपालद्वारा आज पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै उहाँले अर्थतन्त्र तहसनहस बनिरहेका अवस्थामा आँफूले सरकारको नेतृत्व लिएको बताउनुभयो ।
यसबीचमा निजी र सार्वजनिक क्षेत्रबीच सहकार्य बढाउँदै अर्थतन्त्रलाई सही गतिमा अघि बढाउने काम भएको बताउँदै उहाँले रेमिट्यान्स एवम् राजस्व बृद्धि, विदेशी मुद्रा सञ्चिती लगायतमा उपलब्धि हासिल भएको बताउनुभयो ।
अर्थतन्त्रमा अझै पनि दवावहरू कायम रहेको बताउँदै उहाँले बैंकको व्याजदर, सहकारी क्षेत्र लगायतमा देखिएका समस्या क्रमशः समाधान गर्दै जाने बताउनुभयो ।
भ्रष्टाचार विरोधी अभियानलाई सरकारले निडरताका साथ अघि बढाइरहेको बताउँदै प्रधानमन्त्रीले यो अभियान सानो मनले सुरु नगरिएको र दोषी छ भने जोसुकै भएपनि पर्ने स्पष्ट पार्नुभयो ।भुटानी शरणार्थी, ललिता निवास प्रकरण लगायतका विषयमा भैरहेका छानविन निष्कर्ष तिर जाने उहाँले बताउनुभयो ।
भारत भ्रमणका क्रममा महत्वपूर्ण उपलब्धिहरू हासिल भएको बताउँदै उहाँले भएका उपलब्धिहरूलाई सुन्ने तथा भन्ने वातावरण पनि नदिइएको उल्लेख गर्नुभयो ।
आँफूले चाँडै नै न्युयोर्क र त्यसपछि चीनको भ्रमणमा जान लागेको जानकारी दिदै उहाँले न्युयोर्कमा जलवायु परिवर्तनबाट भएका विपत्ती लगायतका विषयमा छलफल गरिने बताउनुभयो । चीन भ्रमणको क्रममा पोखरा र लुम्बिनी विमानस्थलबाट सिधै चीनका विभिन्न शहरमा उडान भर्ने सम्बन्धमा छलफल गरिने उहाँले जानकारी दिनुभयो ।
उक्त भ्रमणका क्रममा कोरोला नाका र रूइला नाका खोल्ने चीनसँग सहमति गर्ने एजेण्डा तय भइसकेको उहाँले बताउनुभयो ।नेपालले चीनसँग सुकेको घाँस निर्यात, राँगो तथा भैसीको मासु नियात गर्न सक्ने धेरै किसिमका सम्भावनाहरू रहेको उहाँको भनाइ छ ।
प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनका कारण नेपाल लगायत तेस्रो मुलुकले भोग्नुपरेका समस्याबारे प्रमुख रूपले कुरा उठाउने बताउनुभयो । जलवायु परिवर्तन नेपालको मात्रै नभएर सिंगो विश्वको मुद्दा भएको उहाँको भनाई छ ।
“केही दिनपछि म संयुक्त राष्ट्रसंघको महासभामा जाँदैछु। यसपटक मैले जलवायु परिवर्तन र त्यसले नेपाल लगायत तेस्रो विश्वले भोग्नुपरेका समस्याबारे गम्भीर रूपले कुरा उठाउँछु। आज जलवायु परिवर्तन र विश्व तापमान वृद्धिले सिंगो मानव जातिको भविष्यमा नै चुनौती खडा भएको छ। यसबारे गम्भीर रूपले बहस गरेर साझा समाधान खोज्ने बेला आएको छ।” प्रधानमन्त्री दाहालले भन्नुभयो ।

कुनै आवेगमा आएर समाजवादी मोर्चा गठन नभएको स्पष्ट पार्दै उहाँले यसले सच्चा कम्युनिष्ट तथा लोकतन्त्रवादीलाई एकतावद्ध बनाउँदै लैजाने बताउनुभयो । विभाजित कम्युनिष्टहरू एक ठाउँमा केन्द्रित हुनु आवश्यक भएको उल्लेख गर्दै उहाँले समाजवादको नयाँ उद्देश्यमा पुग्नका लागि एकता आवश्यक भएको बताउनुभयो ।
परिवर्तनको उपलब्धिको रक्षार्थ विभाजित भएर नभै एकतावद्ध रुपमा अघि बढ्नु जरुरी रहेको बताउँदै उहाँले मोर्चा प्रतिको आस्था र विश्वास बढ्दै गएको बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनताका लागि भनेर अहिलेको परिर्वतन ल्याएकाले अब काम गरेर देखाउनुपर्ने चुनौती रहेको बताउनुभयो ।जनताले वर्तमान सरकारप्रति ठूलो आशा गरेकाले काम गरेर जनताको मन जित्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
अध्यक्ष नेपालले भन्ुनभयो,“ जनताले अहिले ठूलो आशा गरेका छन् । जनताका लागि परिर्वतन ल्याएकाले काम गरेर देखाउनु पर्ने चूनौती छ । सरकारको हात पनि बलियो बनाउने र सरकारको साथमा जनता छन्, राजनीतिक दल पनि छन् भनेर मोर्चाको अवधारणा अघि सारेका हौँ ।”
पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष नेपालले चार दलीय मोर्चालाई सरकारसँग मात्र जोडेर हेर्न नहुने उल्लेख गर्नुभयो । उहाँले कसैले देशको राष्ट्रियता र स्वाभिमानमा आँच पु¥याएमा मोर्चा चुप लागेर नबस्ने समेत दावी गर्नुभयो ।
“ कसैले यो मोर्चालाई सरकारसँग मात्र जोडेका छन् । सरकारसँग मात्र जोड्ने होइन । सरकारसँग पनि जोड्ने हो, जनता र देशसँग पनि जोड्ने हो । यो मोर्चा तीन वटै क्षेत्रमा क्रियाशील हुनेछ ।” अध्यक्ष नेपालले भन्नुभयो ।
वर्तमान सरकारले निष्पक्ष ढङ्गबाट काम गरिरहेकाले सबैले साथ र सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । देशमा सुशासन कायम गर्ने सँगसँगै सरकारले देश विकासका क्षेत्रमा समेत पहल गरिरहेको अध्यक्ष नेपालले बताउनुभयो ।
उहाँले मोर्चामा आवद्ध दलका नेताकार्यकर्ताहरुकाबीचमा प्रदेश तथा स्थानीयस्तरमा समेत सुमधुर सम्बन्ध कायम गर्दै अघि बढ्न आग्रह गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले क्रान्तिबाट स्थापित उपलब्धिको रक्षाका लागि समाजवादी मोर्चा गठन भएको बताउनुभयो । पछिल्ला समयमा क्रान्तिबाट पराजित शक्ति जुरमुराउन थालेको उल्लेख गर्दै उहाँले कम्युनिष्ट आन्दोलनमा देखिएका फुटहरू समाजवादी मोर्चाका रुपमा एकताबद्ध हुँदै अघि बढ्न थालेको उल्लेख गर्नुभयो ।
जनता समाजवादी नेपालका कार्यकारी सदस्य शिवलाल थापाले नेपालको आवश्यकताअनुसार समाजवादी मोर्चा गठन भएको बताउँदै यो आगामी २०८४ को निर्वाचनका लागि मात्र नभइ पछिसम्म पनि चलिरहने बताउनुभयो ।
कार्यक्रम नेकपा(माओवादी केन्द्र) गण्डकीका अध्यक्ष एवं मोर्चाका प्रदेश संयोजक गायत्री गुरुडको अध्यक्षतमा भएको थियो । कार्यक्रम सञ्चालन नेकपा(एकीकृत समाजवादी)का पोलिटव्युरो सदस्य श्रीनाथ बरालले गर्नुभयो ।