पोखरा बसपार्कका मोटर पार्टस् र ग्यारेज हटाइए,व्यवस्थित बनाइदै

हिमाली आवाज । पोखराको पृथ्वीचोकमा करिब पाँच दशक अघि व्यवस्थित बसपार्कका लागि छुट्टाइएको जमिन मानवीय अतिक्रमणमा परेपछि महानगरपालिकाले यसलाई व्यवस्थित गर्न सुरुआत गरेको छ ।

बसपार्क अगाडिको सडकमा हुँदै आएको पार्किङ निषेध गरेर गत महिनादेखी बसपार्कभित्रबाटै बसहरु छुट्ने व्यवस्था गरेको महानगरले अहिले बसर्पाकभित्र रहेका अव्यवस्थित मोटर पार्टस् र ग्यारेजहरु बन्द गराएको हो ।

बसपार्क भित्र रहेका एक दर्जन बढी मोटर पार्टस् र ग्यारेजहरू बन्द गरिएको हो । उनीहरू यसअघि नै स्थानान्तरणका लागि समय दिइएको थियो । हाल बसपार्क व्यवस्थापनको काम तीव्र गतिमा भइरहेकाले बसपार्ककै जग्गामा सञ्चालित ती मोटर पार्टस् र ग्यारेजहरू बन्द गरिएको महानगरको यातायात व्यवस्थापन समितिका संयोजक एवं वडा नं.१६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले बताउनुभयो ।

पर्यटकीय शहर पोखरामा विसं २०३२ मा सुविधासम्पन्न र व्यवस्थित बसपार्क निर्माणका लागि भनेर जमिन छुट्टाइएपनि हालसम्म पूर्वाधार बन्न सकेको छैन । पछिल्लो समय बसपार्कभित्रको जमिन समधर बनाउने, खाल्डाखुल्डी पुर्ने पुराना र थोत्रा सवारीसाधन हटाएर सहज बनाइएको तिमिल्सिनाले बताउनुभयो ।

उहाँले भन्नुभयो,“महानगरपालिका पोखरा बसर्पाकको व्यवस्थित सञ्चालनका लागि प्रतिबद्ध छ, अहिले सडकबाट छुट्ने सबै गाडीहरूलाई बसपार्क भित्रबाटै छुट्ने÷छुटाउने अनिवार्य व्यवस्था लागु गरिएको छ । अहिले बसपार्कको आन्तरिक व्यवस्थापनको काम गरिरहेका छौँ, सोही अनुरूप बसपार्ककै जग्गा रहेका मोटर पार्टस् र ग्यारेजहरू बन्द गरेका हौँ ।”

बसपार्क व्यवस्थापनको कार्यमा स्थानीय व्यवसायीहरूले सकारात्मक सहयोग गरिरहेको संयोजक शर्माले बताउनुभयो । उहाँका अनुसार बसपार्क भित्र रहेका कवाडी सङ्कलन केन्द्रहरूलाई यही भदौ २२ गते भित्र स्थानान्तरण गर्न निर्देशन दिइएको छ ।

पृथ्वीचोक बसपार्कलाई थप व्यवस्थित बनाउनका लागि रेलिङहरू निर्माण गरिएका छन् भने नाला निर्माण सम्पन्न गरी ढलान गर्ने तयारी गरिएको समितिका सदस्य एवं वडा नं.९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले बताउनुभयो । बसपार्कको बिच भागमा रहेको टिकट काउन्टरहरू हटाइएको छ भने, केही टहराहरू समेत स्थानान्तरण गरिएका छन् ।

यस कार्यमा पोखरा महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, यातायात व्यवस्थापन समिति, यातायात व्यवसायीहरू, नेपाल प्रहरी, नगर प्रहरी र स्थानीय जनप्रतिनिधिहरू निरन्तर लागिरहेका छन् । बसपार्क क्षेत्रमा भइरहेको अतिक्रमणलाई हटाई व्यवस्थित बसपार्क निर्माण गर्ने महानगरपालिकाको योजना रहेको महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताउनुभएको छ ।

उहाँका अनुसार त्यस क्षेत्रमा रहेका भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीहरुलाई निस्सा वितरणको पहिलो चरणको कार्य सम्पन्न भैसकेको भने, अव दोस्रो चरणमा तिनीहरूको व्यवस्थापनको काम सुरु हुनेछ । त्यसपश्चात् बसपार्कमा थप पूर्वाधार निर्माणका कामहरू गरिनेछन् ।

Comments
Loading...