पोखरा—जोमसोम हवाई सेवा दुई महिनापछि सञ्चालनमा

हिमाली आवाज । पोखरा—जोमसोम हवाई सेवा दुई महिनापछि सञ्चालन भएको छ। गण्डकी प्रदेशको राजधानी पोखरादेखि पर्यटकीय जिल्ला मुस्ताङको जोमसोम विमानस्थलमा हुने हवाई सेवा प्रतिकूल मौसमका कारण असार १३ गतेदेखि स्थगित भएको थियो।

जोमसोम विमानस्थलका प्रमुख हिरोण शाहले दुई महिनापछि हवाई सेवा सुरु भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“मौसममा सुधार र पर्यटकीय याम सुरु हुन लागेकाले पोखरा–जोमसोम हवाई सेवा सञ्चालन गरिएको हो ।”

बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा पहिराका कारण यातायात सेवा प्रभावित भइरहेको अवस्थामा हवाई उडान सञ्चालन भएपछि मुस्ताङका बासिन्दा, तीर्थयात्री र पर्यटकलाई सहज हुने अपेक्षा गरिएको छ।

सडक अवरुद्ध हुने र हवाई सेवा नभएको अवस्थामा महंगो शुल्क तिरेर हेलिकप्टरमार्फत यात्रा गर्नुपर्ने बाध्यता थियो। हवाई सेवा सञ्चालन भएपछि मुस्ताङमा पर्यटकको चहलपहल बढ्ने अपेक्षा गरिएको छ।

आर्थिक वर्ष २०७९÷०८० मा ७१ हजार जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जनाएको छ। केही दिनयता बेनी–जोमसोम सडकमा पनि नियमित यातायात सञ्चालन भइरहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले बताए।

Comments
Loading...