हिमाली आवाज। हिमाल पारिको जिल्ल्ला मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङ गाउँपालिकाको लोवथाङमा रहेको ‘मुस्ताङ गल्फ कोर्स’लाई ‘वल्र्ड रेकर्ड’ कायम गराउने उद्धेश्यले ‘गल्फ च्यालेन्ज’ आयोजना हुने भएको छ ।
समुद्री सतहदेखी चार हजार ६ सय ४५ मिटर(१५,२३९.५ फिट) को उचाइमा अवस्थित सो गल्फ कोर्समा यही भदौ ३० गते दोस्रो संस्करणको गल्फ प्रतियोगिता गर्न लागिएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
गण्डकी प्रदेश गल्फ सङ्घले लोमान्थाङ गाउँपालिकासँगको सहकार्यमा प्रतियोगिता आयोजना गरेको गण्डकी प्रदेश सभाका पूर्वसदस्य एवं प्रदेश गल्फ सङ्घका संयोजक इन्द्र धारा विष्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार मुस्ताङ गल्फ कोर्सको थप प्रचार प्रसार र प्रवद्र्धन गर्ने उद्धेश्यले गरिएको प्रतियोगिताको विश्वस्तरमा प्रचार गरी उच्चस्तरीय पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने विश्वास लिइएको छ ।

प्रतियोगितामा पोखरा, काठमाडौँ, धरान, बुटवल लगायतका सहरका ४० गल्फ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । जसमा चार जना महिला खेलाडी समेत सहभागी बन्नेछन् । यसवर्ष राष्ट्रिय खेलाडीमा सीमित प्रतियोगितामा आगामी वर्ष विदेशी खेलाडी समेत सहभागी बन्ने विश्वास आयोजकको छ ।
आयोजकका अनुसार इभेण्ट नौ होलमा ३÷४ ह्याण्डि क्यापको साथ स्थिर फोर्ड ढाँचामा खेलाइनेछ । प्रतियोगितामा ‘होल इन वन’को विजेतालाई घोडा वा सो बरावरको रु एक लाख नगद पुरस्कार प्रदान गरिने छ ।
यसैगरी विजेता, उपविजेता, महिला विजेता, वेष्ट ग्रस, नियर टु दि होल, लङ ड्राइभ र वर्डिजका विजेतालाई ट्रफी प्रदान गरिने छ ।
‘मुस्ताङ गल्फ कोर्स’ विश्वकै सर्वाधिक उचाईमा रहेको छ । यद्यपि यो ‘गिनिज बुक्स अफ वल्र्ड रेकर्ड’मा दर्ज हुन बाँकी छ । यस अघि भारत सिक्किमको याक गल्फ कोर्षलाई सर्वाधिक उचाईको गल्फ कोर्ष मानिन्छ । सो गल्फ कोर्ष तीन हजार ९ सय ७० मिटरको उचाईमा छ ।