हिमाली आवाज । पोखरामा असोज दोश्रो साता हुने ईन्टर कलेज व्याण्ड कम्पिटिसनको फर्म असोज ३ गतेसम्म भर्न सकिने भएको छ ।
पोखरा सांगीतिक कलाकार संघको आयोजनामा यहि असोज १२ र १३ गते हुने सो प्रतियोगिताको फर्म यसअघि भदौ २५ गतेसम्म मात्र भर्न सकिनेगरी समयसीमा तोकिएको थियो ।
तर सामुदायिक तथा संस्थागत विद्यालयहरुको साझा संस्था प्याव्सन, एन.प्याव्सन, हिसान र युनिप्सका अध्यक्षहरुसँग गरिएको परामर्शपछि आयोजक कलाकार संघले यसअघि तोकिएको फर्म भर्ने अन्तिम मिति भदौ २५ गतेबाट सारेर असोज ३ गतेसम्म पु¥याएको हो । विद्यार्थीको हितलाई मध्यनजर गरेर फर्म भर्ने मिति सारिएको कलाकार संघका अध्यक्ष हर्कराज गुरुङ (भाई)ले बताउनुभयो ।
उहाँले भन्नुभयो,‘सहभागि हुन चाहनेका लागि फर्म भर्न शुरु भइसकेको छ । आजदेखि असोज ३ गते अपराह्न ५ बजेसम्म जुनसुकै बेला आएर भर्न सक्नुहुनेछ ।’ फर्म भर्न दुई हजार शुल्क लाग्ने संघका अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
प्रतियोगिता असोज १२ र १३ गते पोखरा प्रदर्शनी केन्द्र परिसरमा रहेको डोममा आयोजना हुँदैछ । प्रतियोगितामा देशभरका कलेजमा रहेका सांगीतिक व्याण्डहरुले प्रतिष्पर्धा गर्न पाउने संघले जनाएको छ । प्रतिष्पर्धामा कक्षा ८ देखि माथि स्नातकोत्तरसम्म अध्ययनरत विद्यार्थीहरुको व्याण्ड सहभागि हुन पाउने संघका अध्यक्ष गुरुङले स्पष्ट पार्नुभयो ।
प्रतियोगिताका लागि सहभागि हुन चाहने कलेज व्याण्डहरुले फारम भरेपछि डिजिटल अडिसन दिनुपर्नेछ । जसका लागि कलेज व्याण्डले कभर सङ्ग गाएर त्यसको भिडियो पठाउनुपर्नेछ । डिजिटल अडिसनको भिडियोपनि फर्म भर्ने मिति असोज ३ गतेसम्ममा नै ल्याईसक्नुपर्नेछ ।
त्यसमा छनौट भएका व्याण्डहरुले पुनः फिजिकल अडिसन दिनुपर्ने हुन्छ । फिजिकल अडिसनबाट छनौट भएकाहरु सेमीफाईनलमा पुग्ने अध्यक्ष गुरुङले बताउनुभयो । ‘त्यसपछि सेमीफाईनल राउण्डबाट फाईनलिष्ट चयन गर्छौं र उनीहरुबीच प्रतिष्पर्धा गराई उपाधि बिजेता चयन गर्छौं’उहाँले भन्नुभयो । व्याण्डहरुले फिजिकल अडिसन र सेमीफाइनलमा कभर सङ्ग मात्र गाए पुग्छ भने फाइनलमा एउटा कभर सङ्ग र अर्को एउटा आफ्नो मौलिक (ओरिजिनल) गीत गाउनुपर्नेछ ।
प्रतियोगिताको उपाधि बिजेतालाई नगद १ लाखसहित प्रमाणपत्र, उपबिजेतालाई नगद ५० हजार र तेश्रो हुनेलाई नगद २५ हजारसहित प्रमाणपत्र प्रदान गरिने क्लवका सचिव भाष्करध्वज श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै, प्रतियोगितामा उत्कृष्ट भोकल, लिड गिटार, रिदम गिटार, बेस गिटार र उत्कृष्ट ड्रमरलाईपनि नगद ५÷५ हजारसहित प्रमाणपत्र प्रदान प्रदान गरिने श्रेष्ठले बताउनुभयो।
पोखराको सांगीतिक माहोल तताउँदै व्याण्डहरुलाई पुनःजागृत गराउने उद्देश्यले ईन्टर कलेज व्याण्ड कम्पिटिसन गर्न लागेको अध्यक्ष गुरुङले बताउनुभयो । ‘नब्बेको दशकमा व्याण्डहरुको जगजगी थियो तर पहिलेजस्तो अहिले रहेन । कोरोना र आर्थिक मन्दीले त झन् सांगीतिक क्षेत्रलाई नराम्ररी प्रभावित बनायो । त्यसैले सुस्ताएको व्याण्ड र सांगीतिक क्षेत्रलाई पुनःजागृत गराउन प्रतियोगिता आयोजना गरेका हौं’ उहाँले भन्नुभयोे ।
प्रतियोगिताले विद्यालयमा अध्ययनरत विद्यार्थीमा लुकेर रहेका प्रतिभाको उजागर गर्नुका साथै विद्यालयमा सांगीतिक माहोल सिर्जना गर्नका लागि वातावरण बनाउने बताइन्छ ।प्रतियोगिताले संगीतको माध्यमबाट सुस्ताएको पर्यटन उकास्न भूमिका खेल्ने संघका उपाध्यक्ष टोपबहादुर खत्री (कान्छादाई)ले बताउनुभयो ।