पोखरा महानगर र कोइकाबीच रोजगारी सिर्जना परियोजनामा हस्ताक्षर

हिमाली आवाज । पोखरा महानगरपालिका र कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) बीच पोखरामा ‘रिसाइक्लिङ’ र ‘अपसाइक्लिङ’ मार्फत हरित रोजगारी सिर्जना परियोजना सम्बन्धी प्रतिबद्धता पत्रमा हस्ताक्षर भएको छ ।

पोखरा महानगरपालिका र कोइका बीचको समझदारीलाई बलियो बनाउँदै रोजगारी सिर्जनामा सघाउने उद्देश्यले पारस्परिक प्रतिबद्धता पत्रमा आज महानगरको तर्फबाट प्रमुख धनराज आचार्य र कोइकाको तर्फबाट उपप्रमुख युनयंग लीले हस्ताक्षर गर्नुभएको छ ।

यसअघि समेत कोइका र महानगरपालिका बीच परियोजना सम्बन्धी प्रारम्भिक मस्यौदामा हस्ताक्षर भइसकेकामा हाल सो परियोजना नेपाल सरकार र गणतन्त्र कोरिया सरकारबीच स्वीकृतिको अन्तिम प्रक्रियामा रहेको महानगरले जनाएको छ ।

प्रतिबद्धता अनुसार कोइकाले हरित अर्थतन्त्रमा योगदान पु¥याउने दिगो रिसाइकल र अप–साइकल (आरयू) उद्यमहरूलाई बढवा दिन उपयुक्त माध्यम सिर्जना गर्नेछ । यसबाट महानगरपालिकाका कर्मचारी, सरकारी सरोकारवाला र आरयू उद्यमहरूको क्षमता निर्माण गरी हरित रोजगारी सिर्जना गर्न सहयोग गर्नेछ ।

यस्तै ग्रिन भेन्चर जोन (जीभीजेड) स्थापना गर्ने र नयाँ तथा आरयू उद्यमहरूलाई व्यवसाय इन्क्युबेशन सहायता (वित्तीय, प्राविधिक र बजार) प्रदान गर्नेछ । फोहरमैला सचेतना सम्बन्धी नागरिक व्यवहारमा परिवर्तन ल्याउन यस परियोजना महत्वपूर्ण हुने बताइन्छ ।

ग्रिन भेन्चर जोन (जिभीजेड) स्थापना गर्न महानगरपालिकाले पोखराको वडा नम्बर ६ वसुन्धरा पार्कमा पाँच हजार ९० वर्ग मिटर क्षेत्रफल उपलब्ध गराउनेछ ।

हरित अर्थतन्त्रमा योगदान पु¥याउने दिगो आरयू उद्यमहरूलाई बढवा दिन उपयुक्त वातावरण सिर्जना गर्न महानगरपालिकाले पर्याप्त र आवश्यक मानव संसाधनहरू विनियोजन गर्नेछ । हरित अर्थतन्त्रमा योगदान पु¥याउने आरयू उद्यमहरूलाई बढवा दिन दिगो नीतिको सुनिश्चितता सहित महानगरपालिकाले परियोजनाको स्वामित्वमा लिनेछ ।
महानगर प्रमुख आचार्यले फोहरमैलाको व्यवस्थापन निकै चुनौतीपूर्ण रहेको बताउँदै यसलाई मोहोरमा बदल्ने प्रयास स्वरूप हरित रोजगारी सृजनामा जोड्न लागिएको बताउनुभयो । उहाँले भन्नुभयो,“परियोजनाले युवाहरूलाई रोजगारीसँग जोड्ने छ भने, फोहोरबाट मोहोर आर्जन हुनेछ ।”

कोइकाका उपप्रमुख युन यंग लीले यस परियोजनाले युवाहरूका लागि रोजगारी सृजनामा महत्तपूर्ण योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
फोहर मैलाको उचित व्यवस्थापन मार्फत हरित रोजगारी सृजना र चक्रीय अर्थतन्त्रको सृजनशील उपयोग आम समुदायका लागि आवश्यक रहेको उहाँले बताउनुभयो ।

Comments
Loading...