हिमाली आवाज । एभरेस्ट मिडिया हाउसको अध्यक्षमा पुनः कर्मकुमारी गुरुङ चयन हुनुभएको छ । मिडिया हाउसको आज सम्पन्न तेश्रो साधारणसभा तथा दोश्रो अधिवेशनले संस्थापक अध्यक्ष गुरुङलाई पुनः दोश्रो कार्यकालका लागि चयन गरेको हो ।
अधिवेशनले सञ्चालक समिति सदस्यहरुमा सरोज श्रेष्ठ, हरि शर्मा गैह्रे, सन्तोष पोखरेल, मनोहर श्रेष्ठ, सोभितमान बुद्धाचार्य र धनकुमारी रायमाझीलाई चयन गरेको छ ।

दोश्रो कार्यकालका लागि पुनः अध्यक्षमा चयन भएपछि बोल्दै अध्यक्ष गुरुङले पोखराको विकास, समृद्धि र पर्यटनको प्रवद्धनसँगै समाज रुपान्तरणमा आवाज विहीनहरुको आवाज बनेर काम गरिरहेको बताउनुभयो । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाईरसजस्तो महामारीका कारण उत्पन्न असहज परिस्थितिमा स्थापित यस मिडिया हाउस अहिले अग्रणी स्थानमा रहनुमा श्रोता र विज्ञापनदाताको अपार माया विश्वास रहेको भन्दै आभार व्यक्त गर्नुभयो ।
साधारण सभाले वार्षिक प्रगती विवरण र आर्थिक प्रगती विवरण पारित गरेको छ । साधारण सभाको अवसरमा मिडिया हाउसका सेयर सदस्य र कर्मचारी तथा उनीहरुका परिवारहरुबीच तीज उत्सव विशेष कार्यक्रम मनाइएको थियो ।
२०७७ सालमा स्थापित एभरेस्ट मिडिया हाउसले पोखराबाट प्रशारण हुने एभरेस्ट एफ.एम. र एभरेस्ट आवाज डटकम सञ्चालन गर्दै आएको छ ।