हिमाली आवाज । पोखरामा फुटबल खेल विकास र विस्तार तथा एकेडेमी सञ्चालन गरी देशका लागि आवश्यक खेलाडी उत्पादन गर्दै आएको सहारा क्लब पोखराको अध्यक्षमा केशवराज बराल निर्विरोध निर्वाचित हुनुभएको छ ।
मोफसलमै उत्कृष्ट क्लबका रुपमा स्थापित सहारा क्लबको शनिबार राति सम्पन्न १३ औँ अधिवेशनले बरालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
क्लबको बरिष्ठ उपाध्यक्षमा पूर्ण बहादुर गुरुङ, उपाध्यक्षमा चित्र बहादुर पुन, महासचिवमा पुनःरामजी प्रसाद अधिकारी सचिवमा टंकराज पौडेल कोषाध्यक्षमा बिनु राना मगर सहकोषाध्यक्षमा अशोक लालचल चयन हुनुभयो ।
यसैगरी सदस्यहरुमा ज्योती केसी, चन्द्रावती गुरुङ, अम्बर राजभण्डारी, बिष्णु गुरुङ, सुशील रिमाल र केशव पौडेल रहनुभएको छ ।
सहारा क्लब फुटबल तथा सामाजिक क्षेत्रमा सक्रिय रहेको छ । क्लबले सहारा एकेडेमी सञ्चालन गरी फुटबल खेलाडी उत्पादन गर्दै आएको छ ।
एकेडेमी सञ्चालका लागि क्लबले स्थापना गरेको अक्षयकोषमा हालसम्म रु दुई करोड ८५ लाख पुगेको क्लबले जनाएको छ । अहिले सहारा एकेडेमीमा चौथो व्याचका ११ जना बालकहरुलाई भर्ना गरेको छ । क्लबले तेस्रो चरणका २८ जना बालकलाई गत चैतमा विदाई गरेको थियो ।

क्लबले वर्षेनी पोखरामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ । आगामी २३ औं संस्करणको आहा रारा पोखरा गोल्डकपलाई ‘लिगकम नकाउट’मा सञ्चालनको तयारी गरिएको महासचिव अधिकारीले बताउनुभयो ।
सहाराको रजत जयन्ती तथा अधिवेशनका अवसरमा खेलकुद लगायत विभिन्न सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरुलाई सम्मान गरिएको छ ।
त्यसैगरी सहारा खेलकुद पत्रकारिता पुरस्कार—२०८० बाट पोखराका फोटो पत्रकार उमेश पुन पुरस्कृत हुनुभयो । पोखरा–१७ दोबिल्लास्थित सहारा एकेडेमीमा आयोजित जयन्ती समारोहमा फोटो पत्रकार पुनलाई नगद रु २५ हजारसहित दोसल्ला र सम्मान पत्रबाट पुरस्कृत गरिएको हो ।
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पुनलाई सम्मान गर्नुभयो । सहारा क्लब पोखराले वर्षेनी खेलकुद विधामा सक्रिया खेल पत्रकारलाई पुरस्कार प्रदान गर्दै आएको छ ।
रजत जयन्तीको अवसरमा क्लबले सदस्यको तर्फबाट धमेन्द्र बराल, संस्थापक सल्लाहकार जयलाल पुन, सहारा क्लबका सल्लाहकार महेश गुरुङ, पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, डा.नारायण गौतम, नेपाल खेलकुद पत्रकार मञ्चका पूर्व अध्यक्ष निरञ्जन राजवंशीलाई सम्मान गरेको छ ।
यसैगरी पत्रकार रामकृष्ण ज्ञवाली, हिमश्री फुड्सकी निर्देशक प्रेमकुमारी केसी, सहारा क्लब पोखराका संस्थापक कोषाध्यक्ष रामचन्द्र गुरुङ, उमादेवी गुरुङ, विल तामाङ(मरणोपरान्त), उगेन लामा, मुक्षेत्र गुरुङ, सहारा क्लब युके, सहारा क्लब हङकङ तथा सहारा क्लब अष्ट्रेलिया लगायतका व्यक्तित्वलाई पनि सम्मान गरिएको थियो ।