पृथ्वी पर्यटन पत्रकारिता पुरस्कारबाट सम्पादक दवाडी पुरस्कृत

हिमाली आवाज । पृथ्वी होटल व्यवसायी समिति पोखराले प्रदान गर्ने पृथ्वी पर्यटन पत्रकारिता पुरस्कारबाट यस वर्ष पत्रकार कृष्ण दवाडी पुरस्कृत हुनुभएको छ ।

एशोसिएसनको आज पोखरामा सम्पन्न ११ औँ साधारणसभा तथा आठौँ अधिवेशनको अवसरमा पत्रकारलाई दवाडीलाई पुरस्कृत गरिएको हो ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख नविन पोखरेल, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी र एशोसिएसनका अध्यक्ष बालकृष्ण न्यूरे लगायतले दवाडीलाई सम्मान गर्नुभयो ।

पुरस्कारको राशी रु १० हजार, दोसल्ला र सम्मानपत्र रहेको छ । पत्रकारितामार्फत पर्यटन क्षेत्रको प्रवद्र्धनमा योगदान दिएको भन्दै प्रदान गरिएको पत्रकार दवाडीलाई पुरस्कृत गरिएको हो ।

पुरस्कृत दवाडी नेपाल पत्रकार महासंघ कास्कीका कोषाध्यक्ष तथा प्रेस सेन्टर नेपाल, कास्की शाखाका अध्यक्ष हुनुहुन्छ । उहाँ डेढ दशकदेखि पत्रकारितामा कृयाशिल रहनुभएको छ । उहाँ विसं २०७५ देखी राष्ट्रिय समाचार समितिको कास्की सम्वाददाताको रुपमा काम गर्दै आउनुभएको छ । त्यसैगरी उहाँ हिमाली आवाज डटकम र पत्रिकाका सम्पादक हुनहुन्छ ।

कार्यक्रममा पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख नविन पोखरेलले पर्यटकीय सेवा प्रदान गर्ने निकायहरुको सेवा र पर्यटकको आतिथ्यतामा मौलिकता झल्कनुपर्ने बताउनुभयो ।  उहाँले मौलिक पहिचान कायम गर्न सकेको खण्डमा पर्यटन विकासमा सहयोग पुग्ने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो,“पर्यटकलाई सेवा प्रदान गर्दा व्यवसायीहरुले आफ्नो मौलिकतालाई प्रस्तुत गर्न सक्नुपर्दछ । पर्यटकको सेवा र सुरक्षाको सुनिश्चितता भएमा यस क्षेत्रको विकासले फड्को मार्न सक्दछ । ”

प्रमुख पोखरेलले पोखरा र समग्र गण्डकी प्रदेशको पर्यटन विकासका लागि पृथ्वी होटल व्यवसायी समिति लगायतका सबै संघ संस्थासँग सहकार्य गरेर अघि बढ्न बोर्ड तयार रहेको स्पष्ट पार्नुभयो ।

होटल व्यवसायी महासंघ नेपालको वरिष्ठ उपाध्यक्ष शेरबहादुर थापाले समयानुकुल पर्यटन ऐन ल्याउन सक्दा मात्र होटल व्यवसाय सहित पर्यटन क्षेत्रको विकास हुने बताउनुभयो ।

गण्डकी प्रदेश होटल एशोसिएसनका अध्यक्ष अर्जुन चोखालले व्यवसायीको हित हुने गरी सरकारी निकायहरुले नीति तथा योजना बनाउन माग गर्नुभयो ।

एशोसिएसनका अध्यक्ष बालकृष्ण न्यूरेको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन समारोहमा पोखरा चेम्बर अफ कमर्शका अध्यक्ष यमनाथ पौडेल, नेपाल पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष विमला भण्डारी, पोखरा पर्यटन परिषद्का उपाध्यक्ष कृष्ण भण्डारी, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख मोहन कुमार थापा, एशोसिएसनका उपाध्यक्ष अमृत घिमिरे, महासचिव जीवन भण्डारी लगायतले पर्यटन क्षेत्रको विकासका लागि होटल क्षेत्रको समयानुकुल परिर्वतन भएर सेवा सुविधामा सुधारको खाँचो आँैल्याउनुभएको थियो ।

Comments
Loading...