हिमाली आवाज । पोखराको बजार क्षेत्र भएर बग्ने फिर्के खोलाको प्राकृतिक बहाव पत्ता लगाउन गरिएको सिमाङ्कनको प्रतिवेदन महानगरलाई बुझाइएको छ ।फिर्के खोलाको खोलाघर नापजाँच सम्बन्धी प्राविधिक प्रतिवेदन समितिको तर्फबाट महानगरपालिकालाई बुझाइएको हो ।
प्राविधिक समितिका संयोजक वासुदेव पौडेलले शनिबार नगर प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवि गुरुङ र प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापालाई बुझाउनु भएको हो ।प्रतिकुल मौसम र भौगोलिक कठिनाइका बाबजुत खोलाको खोला नाप जाँच कार्य सम्पन्न गरी प्रतिवेदन तयार गरिएको समितिका संयोजक वासुदेव पौडेलले बताउनुभयो ।
प्राविधिक समितिले एक महिना लगाएर गत साउन ३ देखी भदौ ३ गतेसम्म खोलाको नाप जाँच गरेको थियो । फिर्के खोलाको सिमाङ्कन टोलीमा इन्जिनियर, सर्वेक्षक र अमिनहरू सहित ४० जना परिचालित भएका थिए ।संयोजक पौडेलका अनुसार खोलाघर माथी स्थायीदेखी अस्थायी प्रकृतिका एक सय ६० संरचनाहरु निर्माण गरेको पाइएको छ ।
फिर्केखोलानै मिचेर ९७ वटा अस्थायी संरचनाहरू र ३५ वटा स्थायी संरचनाहरू निर्माण गरेको पाइएको छ । खोलामाथी १० अस्थायी र १८ वटा स्थायी प्रकृतिका संस्थागत संरचनाहरु निर्माण गरिएको प्रतिवेदनमा उल्लेख छ ।
साबिक ग्यारजाती पछि सराङकोट गाविस हुँदै हाल पोखरा महानगरपालिकाको वडा नं.१८,२,४,५,७,८,६ र १७ भएर फेवातालमा मिसिने फिर्के खोलाको कुल लम्बाइ आठ किलोमिटर रहेको छ ।
यो खोला कम्तीमा ३.३० मिटरदेखि बढीमा ४० मिटरसम्म फराकिलो रहेको नापजाँचका क्रममा पाइएको छ । खोलाको उचाइ चार देखी नौ मिटरसम्म गहिरो रहेको पाइएको छ ।
फिर्केखोलाको प्राविधिक नाप जाँच पछि यकिन गरिएको खोला घरको पश्चिमतर्फ तीन सय तीन र पूर्वतर्फ दुई सय ८५ गरी पाँच सय ८८ सिमा स्तम्भहरु गाडिएका छन् । प्रतिवेदनअनुसार फिर्केखोला माथि २५ वटा पुल तथा कल्भर्टहरु रहेका छन् । यसको नापजाँच कार्य ३२ दिनसम्म २८८ घण्टामा सम्पन्न गरिएको हो ।
पौडेलले भन्नुभयो,“महानगरले हामीलाई फिर्केको सिमाङ्कनको जिम्मेवारी दिएको थियो । सो जिम्मेवारी सबैको साथ र सहयोगबाट सम्पन्न गरी प्रतिवेदन बुझाएका छौँ । फिर्के अतिक्रमण गरी खोलामाथि सामाजिक संघसंस्था, विद्यालय तथा व्यक्तिगत घर तथा संरचना बनाएको पाइयो । ”
प्रतिवेदन बुझ्दै महानगर प्रमुख आचार्यले फिर्केखोलाका सम्बन्धमा प्राविधिक नाप जाँच सहितको एक महत्वपूर्ण दस्तावेज तयार भएको बताउनुभयो ।
प्रतिवेदनले खोलाघर माथिको अवस्था देखाइदिएकाले यसको कार्यान्वयनका लागि महानगरपालिकाको कार्यपालिकामा आवश्यक छलफल गरी उपयुक्त निर्णय गरिने उहाँले बताउनुभयो ।
प्रमुख आचार्यले भन्नुभयो,“सम्बन्धित सरोकारवालाहरुसँग समन्वय गरेर खोला मिचेर बनाइएका संरचनाहरु हटाइनेछ ।” दिगो पर्यटन विकास परियोजना अन्तरगतयसको संरक्षण, सम्बद्र्धन र विशेष सौन्दर्यीकरणको उद्देश्य सहित फिर्के कोरिडोरको विकास कार्यक्रम सञ्चालन गरिने महानगरले जनाएको छ ।
उपप्रमुख मन्जुदेवी गुरुङले फिर्के खोला माथी बनेका संरचनाहरु हटाउने कार्यमा आम पोखरेलीहरुको साथ र सहयोग रहने अपेक्षा गर्नुभयो ।
महानगरपालिकाले प्रतिवेदनका आधारमा खोलाघर खाली गर्ने बताउँदै उहाँले यसको संरक्षणका लागि तत्काल काम गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । समितिले सम्बन्धित वडाका वडा अध्यक्षहरूको रोहवरमा प्रतिवेदन महागनरले बुझाएको हो ।
प्रतिवेदनमा फिर्के तथा बुलौदीखोला हुदैँ फेवातालसम्म पुगेका प्लाष्टिकजन्य फोहर तथा सिसा र बिषाक्त रसायनका कारण प्राणी जीवन संकटमा पर्नुका साथै मानव जीवनमा समेत घातक प्रकृतिका जटिल रोगहरुको जोखिम बढ्ने गरी वातावरणिय प्रदुषण भइरहेको प्रतिवेदनमा उल्लेख छ ।