पोखरामा विश्व पर्यटन दिवस मनाइदै, यस्ता छन् कार्यक्रमहरु

हिमाली आवाज । पर्यटकीय नगरी पोखरामा ४४औं विश्व पर्यटन दिवस (सेप्टेम्बर २७) लाई भव्यरूपमा मनाउने तयारी गरिएको छ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले कोरोना महामारीका कारण सुस्ताएको पर्यटनलाई चलायमान बनाउने लक्ष्यका साथ विभिन्न कार्यक्रम गरी विश्व पर्यटन दिवस मनाउन लागिएको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो ।

उहाँका अनुसार पोखरा पर्यटन परिषद्को आयोजना एवं गण्डकी प्रदेशको उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालय, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा कार्यक्रम गर्न लागिएको हो ।

कार्यक्रमकै अवसरमा मित्रराष्ट्र भारतबाट भारतीय टुर अपरेटर र भारतीय सञ्चारकर्मीहरू पोखरा आउन लागेको जानकारी दिँदै श्रेष्ठले उक्त अवसरमा विशेष अतिथिका रूपमा भारतीय राजदूत नवीन श्रीवास्तव आउने जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘पोखराको पर्यटनका सम्बन्धमा भारतीय टुर अपरेटर र नेपाली टुर अपरेटर एवम् सञ्चारकर्मीबीच अन्तरक्रियासमेत गरिनेछ,’।

दिवसका पूर्वसन्ध्यामा २६ सेप्टेम्बरमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीको आयोजनामा पोखराको मार्गीदेखि पुम्दीकोटसम्मको गन्तव्य पहिचान, प्रवद्र्धन एवं एक दिवसीय पदयात्रा कार्यक्रम गर्न लागिएको टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले जानकारी दिनुभयो ।

मार्कीबाट पर्यटन व्यवसायी, स्वदेशी एवं विदेशी पर्यटकसहित करिब १ सय ५० जनाको टोलीले सिम्ले, पात्ले हुँदै पुम्दीकोटसम्म पदयात्रा गर्नेछन् ।

दिवसका दिन रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराको आयोजनामा बाराहीचोकदेखि खहरे चोकसम्म साँझ ५ बजेदेखि मिनी सडक महोत्सव आयोजना गरिनेछ।

‘सडकमै खाऔँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ आयोजित महोत्सवले स्वदेशी एवं विदेशी पर्यटकलाई पोखरा भित्र्याउन महत्तवपूर्ण योगदान गर्ने विश्वास लिइएको छ।उक्त दिन नाट्टा गण्डकी प्रदेशको आयोजनामा पोखरा पर्यटन बसपार्कमा वृक्षारोपण तथा रक्तदान कार्यक्रम गरिने छ।

उक्त दिन पोखरामा क्रियाशील पर्यटन सम्बद्ध सङ्घसंस्थाको आयोजनामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा पोखरा पर्यटन बसपार्कमा पहिलो आउने पर्यटकलाई स्वागत गर्ने कार्यक्रम रहेको परिषद्का अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव कुमानसिंह गुरुङले विश्व पर्यटन दिवसलाई प्रदेशका ११ वटै जिल्लामा मनाउन लागिएको जानकारी दिनुभयो । उहाँले गण्डकी प्रदेशका ११ वटै जिल्लामा एक एक वटा पर्यटकीय गन्तव्य पहिचान गरी सोको डिपिआर तयार गरिएको बताउनुभयो । सचिव गुरुङले यस वर्ष छ वटा गन्तव्यका लागि बजेट विनियोजन गरिएको बताउनुभयो।

Comments
Loading...