हिमाली आवाज । प्रहरीले पोखराको मणिपाल शिक्षण अस्पतालमा चिकित्सकलाई कुटपिट गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर सात दिनको म्याद थप गरी हिरासतमा राखेको छ ।
चिकित्सकलाई कुटपिट गरेको घटनामा चिकित्सकलाई कुटपिट तथा बादविवाद गर्ने पोखरा महानगरपालिका वडा नं ५ मा बस्ने बर्ष ३४ का बिनय गुरुङलाई यही असोज ८ गते साँझ ६ः३० बजे नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका गुरुङलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ अन्तर्गत हातपात, तालाबन्दी तथा तोडफोड जस्ता कार्य गर्न नहुने कसुरमा सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

लमजुङ सुन्दरबजार न.पा. वडा नं. ६ बस्ने बर्ष ५७ की सुक माँया दुराको उपचारको क्रममा मृत्यु भएपछि मृतकका आफन्तहरूले उपचारमा डाक्टरको लापरबाहीको कारण मृत्यु भएको भन्दै अस्पतालमा नारावाजी गरेका थिए । सो क्रममा प्रहरीले चिकित्सकलाई समेत नियन्त्रणमा लिएको थियो । प्रहरीले नियन्त्रणमा लिएका चिकित्सक डा दिनेश कुमार विकलाई आज विहान रिहा हुनुभएको छ ।
डा विकलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सिनेटर मिनबहादुर गुरुङ र डा गिरीधारी शर्माको रोहबरमा छाडिएको हो । यता चिकित्सकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको र धरपकड गरेको भन्दै आन्दोलित भएका छन् । पोखराका चिकित्सकहरुले आज आकिस्मक बाहेकका अन्य सेवा बन्द गराएका थिए । नेपाल प्रगतिशिल चिकित्सक संघले डा विकको रिहाईको माग गर्दै दोशीमाथि विज्ञप्ति मार्फत कारवाहीको माग गरेको थियो ।
निर्दोष चिकित्सक माथि कुटपिट गर्ने प्रहरी अधिकृतलाइ समेत अबिलम्ब कारवाहीको माग गर्दै सम्बन्धित निकायमा ध्यानाकर्षण गराइएको प्रगतिशिल चिकित्सक संघले जनाएको छ । प्रहरीले नियन्त्रणमा लिएका डा विक प्रगतिशित चिकित्सक संघ गण्डकीको अध्यक्ष तथा विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल संचालक समिति सदस्य हुनुहुन्छ । डा विक हिजो साँझ मणिपालका पीडित चिकित्सकलाई सान्त्वना दिएर फर्किरहेको अवस्थामा प्रहरीले दुव्र्यवहार गरी पक्राउ गरेको चिकित्सक संघले जनाएको छ ।