स्वास्थ्यको प्रादेशिक समिक्षा सुरु, बालबालिका र ज्येष्ठ नागरिकको निःशुल्क उपचार : मुख्यमन्त्री पाण्डे

हिमाली आवाज । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बालबालिका र ज्येष्ठ नागरिकको निःशुल्क उपचारको व्यवस्था गरिने बताउनुभएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा गत आर्थिक वर्षमा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको गण्डकी प्रदेशस्तरीय दुई दिनको समीक्षा कार्यक्रमको आज पोखरामा उद्घाटन गर्दै उहाँले १० वर्षमूनिका बालबालिका र ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई उपचारमा निःशुल्क गर्न लागिएको जानकारी दिनुभयो ।

मुख्यमन्त्री पाण्डेले भन्नुभयो,“दस वर्ष मूनिका बालबालिका तथा ६० वर्ष माथिका नागरिकहरुलाई स्वास्थ्य सेवामा सहज पु¥याई सहुलियत प्रदान गर्न प्रदेश मातहतका अस्पताल तथा आयुर्वेद अस्पतालहरुमा ओपिडि र प्रयोगशाला निःशुल्क गरिएको छ । ”

मुख्यमन्त्री पाण्डेले मृगौला रोगका बिरामीहरुको उपचारका लागि डायलायसिस सेवाको प्रतिक्षामा रहेकाहरुको सङ्ख्या शुन्यमा पु¥याउने लक्ष्य अनुसार जिल्लास्थित अस्पतालहरुमा डायलायसिस मेसिन थप गरी सेवा प्रवाह क्षमता विस्तार गरिएको बताउनुभयो ।

पछिल्लो समय स्वास्थ्य संस्था तथा चिकित्सकहरुप्रति भएको आक्रमण र तोडफोडका घटनाप्रति दुःख व्यक्त गर्दै उहाँले घटनामा संलग्न जोसुकै भएपनि कारवाही गरिने स्पष्ट पार्नुभयो । सानातिना घटनाबाट स्वास्थ्यकर्मीलाई बहकाउन खोजिएको, नेपालमा बसेर काम गर्ने वातावरण नभएको भन्ने जस्ता कुरा सुनिएको भन्दै उहाँले कोही पनि बहकिनु आवश्यक नरहेको उल्लेख गर्नुभयो ।

“स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने जुनसुकै दल र जोसुकै भएपनि कारवाही हुन्छ । छिटपुट घटना हुन सक्छ, त्यसलाई टे«न्डनै हो भनेर सम्झिनु भएन । उसले कानुन बमोजिम कारवाही भोग्नुपर्दछ। सबैको सुरक्षाको जिम्मेवारी सरकारको हो, हामी जिम्मेवारी लिन्छौँ।”मुख्यमन्त्री पाण्डेले भन्नुभयो ।

सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिंखडाले गण्डकी प्रदेश मातहत रहेका १२ वटै अस्पतालमा जनरल बेड निःशुल्क गर्न लागिएको बताउनुभयो । कोही पनि बिरामी पैसाको अभावमा उपचारबाट बञ्चित हुन नपर्ने व्यवस्था मिलाएको उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रदेश सरकारका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेत, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा यदुचन्द्र घिमिरे, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा भरतबहादुर खत्री, पोखरा नर्सिङ क्याम्पसका प्रमुख डा निता ताम्राकार, मन्त्रालयका सहित डा विनोदविन्दु शर्मा, निर्देशनालयका निर्देशक डा खिमबहादुर खड्का लगायतले तीनै तहका सरकारको समन्वयमा जनतालाई सहज रुपमा स्वास्थ्य उपचार सेवा प्रदान गर्नुपर्ने बताउनुभएको थियो ।

कार्यक्रममा मन्त्रालय मातहतका विभिन्न कार्यालयका प्रमुखहरुले सीमित साधन स्रोत र जनशक्ति भएपनि जनतालाई सन्तुष्ट हुने गरी सेवा प्रदान गरिएको बताएका थिए । सार्वजनिक खरीद ऐनका कारण अस्पतालहरुमा तत्कालै आवश्यक पर्ने सामग्री खरीद गर्न नसकिएकाले ऐन संशोधन हुनुपर्ने माग उनीहरुको छ ।

Comments
Loading...