पोखरेललाई ‘महानगर पिता’ र गौतमलाई ‘महानगर माता’बाट सम्मान

हिमाली आवाज । अन्तर्रांष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा पोखरा महानगरपालिकाले आज महानगरका दुई ज्येष्ठ नागरिकलाई ‘महानगर माता’ र ‘महानगर पिता’को उपाधिबाट सम्मान गरेको छ ।

महानगरले वडा नं ७ की १०५ वर्षीय इन्द्रकला गौतमलाई महानगर माता र वडा नं २६ का १०३ वर्षीय प्रजापति पोखरेललाई महानगर पिताबाट सम्मान गरेको हो ।गौतमलाई उपप्रमुख मञ्जुदेवी गुरुङ र वडा नं ७ का अध्यक्ष राममोहन आचार्यले सम्मान गर्नु भएको हो ।

त्यसैगरी पोखरेललाई सोही वडाका वडाध्यक्ष नरेन्द्र थापाले सम्मान प्रदान गर्नुभयो । दुबै जनालाई महानगरले जनही रु १५ हजार नगद, दोसल्ला र सम्मानपत्रले सम्मान गरेको हो ।

गौतम र पोखरेल यस वर्ष महानगरको सबैभन्दा बढी उमेरका ज्येष्ठ नागरिक हुनुहुन्छ । महानगरपालिकाले प्रत्येक वर्ष ज्येष्ठ नगरबासी मध्ये दुई जनालाई महानगर माता पिता घोषणा सहित सम्मान गर्ने गर्दै आएको छ ।कार्यक्रममा उपप्रमुख गुरुङले महानगरका ज्येष्ठ नागरिकलाई सम्मान गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।

उपप्रमुख गुरुङले ज्येष्ठ नागरिक जिउँदो इतिहास भएको बताउदै भन्नुभयो,“ज्येष्ठ नागरिक हाम्रा भगवान हुन् । त्यसैले उहाँहरुको सम्मान गर्नुपर्छ ।” ज्येष्ठ नागरिकलाई माया, सद्भाव र सम्मान गनुपर्छ भन्ने उद्देश्यले महानगरले माता पिता सम्मान कार्यक्रम ल्याएको उपप्रमुखले बताउनुभयो ।

यसैगरी वडाध्यक्ष थापाले १०३ वर्षीय पोखरेललाई महानगर पिताका रुपमा सम्मान गर्न पाउँदा गौरव महसुस भएको बताउनुभयो ।
उहाँले ज्येष्ठ नागरिकका ज्ञान र सीपलाई पुस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो,“स्वस्थ जीवन शैली, खानपान, रहनसहनले शताब्दीसम्म स्वस्थ भएर बाँच्ने सकिने सन्देश सम्मानित व्यक्ति पोखरेलबाट प्राप्त भएको छ ।”

वडाले बार्षिक रुपमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमा खाजा एवं सहायता सामाग्री बितरण गर्दै आएको जानकारी दिनुभयो ।पोखरा महानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख निर्मला शर्माले महानगरले बार्षिक रुपमा नगरपिता र नगरमाताको रुपमा ज्येष्ठ नागरिकलाई सम्मान गर्दै आएको बताउनुभयो । यसपटक ज्येष्ठ नागरिकको घरदैलोमा पुगेर महानगरपिता र मातालाई सम्मान गरिएको बताउनुभयो ।

कार्यक्रममा पोखरा महानगरपालिका —४ का निर्वतमान वडाध्यक्ष शंकर बास्तोला, वडा नंं २६ का वडा सदस्य तीर्थबहादुर राजभाट, जागरुक नागरिक समाजका अध्यक्ष रामहरि ढुंगाना, लोक सांस्कृतिक संरक्षण समितिका अध्यक्ष जगन्नाथ तिमिल्सेना, उज्वल आमा समूहका अध्यक्ष सरस्वती गौतम, महानगरपालिका महिला विकास शाखाका अधिकृत विष्णु पौडेल, सम्मानित व्यक्तित्व पोखरेलका नाती डा रञ्जन पोखरेल लगायतले ज्येष्ठ नागरिकलाई सबैले माया र ममता प्रदान गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा सम्मानित परिवारले महानगरपालिकाबाट प्राप्त नगद रु १५ हजारमा रु पाँच हजार एक सय चार थप गरी वडाको सक्नेरीमा रहेको ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रलाई प्रदान गरेका छन् ।महानगरपिताका रुपमा सम्मानित पोखरेलका चार छोरा, तीन छोरीबाट समेत गरी ५२ सन्तान रहेका छन् ।

Comments
Loading...