हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(एमाले)का महासचिव शंकर पोखरेलले भ्रष्टाचारका जुनसुकै काण्डको अनुसन्धान सुरु गरेपनि सरकारलाई सहयोग गर्न आफ्नो पार्र्टी तयार रहेको बताउनुभएको छ ।
पार्टीको गण्डकी प्रदेशको प्रथम अधिवेशनको आज पोखराको अमरसिँहचौरमा उद्घाटन गर्दै उहाँले एमालेको दवावमा मात्र सरकार सुन काण्डको छानविनका लागि तयार भएको जिकिर गर्नुभयो ।
उहाँले भ्रष्टाचारको छानविन गदौ सत्तापक्षकै नेताहरुनै जेल जाने दाबी गर्नुभयो । महासचिव पोखरेलले भन्नुभयो, “हामी एउटै कुरा भन्दछौं : हरेक घटनालाई छानविन गर, अन्त्यमा जेल जाने भनेको सत्ताको नेतृत्व गरेका गठबन्धनहरु नै जान्छन्, एमालेका नेताहरु होईन । किनकी भ्रष्टाचार उनीहरुको शासकीय चरित्र हो । उनीहरु भ्रष्टाचारका हिमायतीहरु हुन् ।”
देशमा छाएको आर्थिक मन्दीका कारण उद्योगी तथा व्यवसायीहरु समस्यामा परेर निरुतसाहित हुने अवस्था आएपनि सरकारले संकट समाधानका लागि ठोस पहल नगरेको उहाँले बताउनुभयो ।
एमालेको नेतृत्वमा सरकार हुँदा उच्च आर्थिक बृद्धिदर भएपनि अर्थतन्त्रमा समस्या देखा परेको महासचिव पोखरेलले जिकिर गर्नुभयो ।“अहिले जनताको जीवन असहज बनेको छ, व्यापार व्यवसाय ठप्प छन् । उद्योगी व्यवसायी संकटमा पुगेका छन् । सरकारले त्यसतर्फ ध्यान दिएका छैन ।” पोखरेलले भन्नुभयो ।

नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले पार्टीमा अहिले एउटै केन्द्रिकृत नेतृत्व रहेको र अझै १० वर्ष अध्यक्ष ओलीको विकल्प नरहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो,“ म यहीँबाट घोषणा गर्छु, यो पार्टीका अझै १० वर्ष केपी ओलीको नेतृत्वको विकल्प छैन । पार्टीमा अहिले एउटै केन्द्र छ । जसका कारणले एमालेले देशभर सात सय ५३ वटै पालिकामा एकै पटक अधिवेशन गर्न सफल भयो, पार्टीमा एकीकृत र केन्द्रिकृत नेता हुँदाको परिणाम हो यो । ”
उपमहासचिव गुरुङले नयाँ उदाएका राजनीतिक दलहरुको कुनै योजना, दर्शन र कार्यक्रम नरहेको बताउनुभयो ।नेकपा एमालेका सचिव तथा गण्डकी प्रदेश ईञ्चार्ज गोकर्ण विष्टले गठबन्धन सरकारप्रति युवाहरुको आशा मरेको दावी गर्दै सोही कारण युवाहरु देश छाडेर टाढा टाढा गइरहेको टिप्पणी गर्नुभयो ।
कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री खगराज अधिकारी, पार्टीका केन्द्रीय सचिव पद्य्मा अर्याल, केन्द्रीय सदस्य एवं कास्कीका इन्चार्ज थममाया थापा, प्रदेश कमिटीका अध्यक्ष नवराज शर्मा, उपाध्यक्ष मोहन रेग्मी लगायतले पार्टीलाई एकतावद्ध बनाउँदै आगामी निर्वाचनको तयारीमा लाग्नुपर्ने बताउनुभएको थियो ।
अधिवेशनको उद्घाटनअघि पोखराको हस्पिटलचोक,शिवचोक, बुद्धचोक र पृथ्वीचोकस्थित पोखरा बसपार्कबाट निस्केको ¥याली अमरसिंहचौरमा पुगेर उद्घाटन सभामा परिणत भएको थियो ।एमाले गण्डकीको अधिवेशन भोलिसम्म चल्नेछ । अधिवेशनको दोश्रो दिन बन्द सत्र तथा नयाँ नेतृत्व चयन हुने बताइन्छ ।
अधिवेशनमा गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट गरी नौ सय सात जना प्रतिनिधि सहभागी भएको एमाले गण्डकीका उपसचिव एवम् प्रचारप्रसार उपसमिति संयोजक रश्मी आचार्यले जानकारी दिनुभयो ।