हिमाली आवाज । जिल्ला स्वास्थ्य कार्यालय कास्की गण्डकी प्रदेशको स्वास्थ्य कार्यालयहरुको मूल्याङ्कनमा प्रदेशकै उत्कृष्ट भएको छ ।
कार्यालयद्वारा बिगत एक वर्षमा सम्पादित स्वास्थ्य कार्यक्रमको विभिन्न सूचकहरुका अनुसार प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कनमा स्वास्थ्य कार्यालय कास्की पहिलो बनेको हो ।
गत आर्थिक वर्ष २०७९÷०८० मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको प्रदेशस्तरीय दुई दिनको समीक्षा कार्यक्रमको सोमबार समापन समारोहमा उत्कृष्ट जिल्लास्थित स्वास्थ्य कार्यालय, अस्पताल र स्थानीयतहलाई घोषणा गरी सम्मान गरिएको हो ।
प्रदेशका ११ वटा जिल्लास्थित स्वास्थ्य कार्यालयको कार्यसम्पादनमा पहिलो बनेको कास्कीलाई सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिँखडा, मन्त्रालयका सचिव डा विनोदविन्दु शर्मा लागयतले पुरस्कृत गर्नुभयो । त्यसैगरी स्वास्थ्य कार्यालय लमजुङ द्धितीय र स्वास्थ्य कार्यालय पर्वत तृतीय बनेका छन् ।
यसैगरी अस्पतालहरुमा गोरखा जिल्ला अस्पताल कार्यसम्पादन मुल्याङ्कनमा पहिलो हुन सफल भएको छ । त्यसैगरी मध्यविन्दु अस्पताल नवलपरासी द्धितीय र धौलागिरी अस्पताल बाग्लुङ तृतीय बने ।
मन्त्रालयले स्थानीय पालिकाहरुको समेत मुल्याङ्कनमा गोरखा नगरपालिका उत्कृष्ट बन्न सफल भयो । त्यसैगरी म्याग्दीको बेनी नगरपालिका द्धितीय र लमजुङको मध्य नेपाल नगरपालिका तृतीय बनेका छन् ।
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय अन्तर्गत गठन गरिएको सर्वेक्षण, अध्ययन, अनुसन्धान तथा समग्र अनुगमन मुल्याङ्कन प्राविधिक कार्य समूहले विभिन्न मापदण्डका आधारमा उत्कृष्ट छनोट गरेको हो ।
प्राविधिक कार्य समूह अन्तर्गतको उपसमितिले विभिन्न मापदण्ड र सूचकका आधारमा उत्कृष्ट अस्पताल र स्वास्थ्य कार्यालय छनोट गरेको उपसमितिका संयोजक रमेशप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रम र नतिजाका आधारमा उत्कृष्ट छनोट गरिएको हो ।
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय अन्तर्गत गण्डकीमा प्रदेशस्तरीय कार्यालय छ, स्वास्थ्य कार्यालय ११,अस्पताल ११ र आयुर्वेद कार्यालय ११ गरी ३९ निकायहरु रहेका छन् ।