हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(एमाले) गण्डकी प्रदेशको नयाँ नेतृत्वका लागि मतदान हुने भएको छ ।यही असोज १५ गतेदेखी सुरु भएको प्रथम प्रदेश अधिवेशनमा आज अध्यक्ष पदका लागि मायानाथ अधिकारी(लमजुङ) र नवराज शर्मा(म्याग्दी)ले उम्मेदवारी दर्ता गराउनुभएको हो ।
पोखरा सभागृह हलमा जारी अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास गरिएपनि सफल नभएको र बिहीबार विहान चुनावमार्फत नेतृत्व चयन गरिने एमालेले जनाएको छ । सर्वसम्मत नेतृत्व चयनको प्रयास सफल नभएपछि निर्वाचन समितिले चुनावी कार्यतालिका प्रकाशित गरेको थियो ।
अध्यक्ष लगायत पदाधिकारीका लागि पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षको दुई छुट्टाछुट्टै प्यानल बनाइएको छ ।
निर्वाचन समितिका अनुसार उपाध्यक्ष पदमा बाबुराम विश्वकर्मा(नवलपुर) र मीनप्रसाद गुरुङ(स्याङ्जा)को उम्मेदवारी परेको छ । सचिवमा धनञ्जय दवाडी(लमजुङ) र रश्मी आचार्य(कास्की) उम्मेदवारी दिनुभएको छ ।

उपसचिव पदमा अर्जुनकुमार सुनाम(स्याङ्जा), दामबहादुर विक(कास्की) र सन्तोष रावल(म्याग्दी)को उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको ।
उपसचिव महिलामा मन्जु अधिकारी(पर्वत) र मीना गुरुङ(कास्की)को उम्मेदवारी परेको छ । यसैगरी एक सय ६२ सदस्यीय प्रदेश कमिटीको लागि तीन सय ८२ जनाको उम्मेदवारी परेको छ ।
नयाँ नेतृत्व चयन गर्नका लागि बिहीबार विहान मतदान हुने मुख्य निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरले जानकारी दिनुभयो । उहाँका अनुसार विद्युतिम मतदान मार्फत निर्वाचन गर्ने तयारी भईरहेको छ । मतदानको लागि ३५ वटा विद्युतिय भोटिङ मेसिन प्रयोग हुने थापाले बताउनुभयो ।
अधिवेशनका लागि प्रदेशका ११ जिल्ला र जनवर्गीय सङ्गठनबाट गरी नौ सय सात जना प्रतिनिधि सहभागी छन् ।निर्वाचनबाट एक सय ६२ जना छानिनेछन् । जसमा पदाधिकारीमा अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक, उपसचिव खुला एक, उपसचिव महिला एक निर्वाचित हुनेछन् । यसैगरी खुल्ला प्रदेश सदस्य ५८ जनालाई विभिन्न कल्ष्टरमा बाँडिएको छ ।