हिमाली आवाज । पोखराका जनपक्षिय पत्रकार शहीद महेश पहारीको १९ औ स्मृति दिवसका अवसरमा आज श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) पोखरा महानगर कमिटीले आयोजना गरेको स्मृति सभामा पार्टीका केन्द्र, प्रदेश जिल्ला तथा स्थानीय नेता कार्यकर्ता, परिवारजन सञ्चारकर्मी तथा स्थानीयवासीले शहीदको तस्वीरमा माल्र्यापण गरी स्मरण गरे ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं कास्की जिल्ला इन्चार्ज नेत्रनाथ अधिकारीले माओवादीले जनयुद्ध सुरु गर्दा देखेको लक्ष्यमा अझै दृढ रहेको बताउनुभयो । उहाँले भन्नुभयो,“ हामीले हाम्रो लक्ष्य भुलेका छैनौँ, अहिले केवल गन्व्य मात्र फरक हो । शहीद र बेपत्ताका सपना पूरा गर्न पार्टी प्रतिवद्ध छ ।”
पार्टीका केन्द्रीय सदस्य झलकपाणि तिवारीले शहीदले देश र जनता केन्द्रित भएर गरेको बलिदानीबाट हालको उपलब्धि हासिल भएको बताउनुभयो ।

पार्टीका केन्द्रीय सदस्य तेजकुमारी पौडेलले जनयुद्ध, जनआन्दोलन तथा परिर्वतनका लागि भएका सङ्घर्षका शहीद, बेपत्ता तथा घाइतेका परिवारजनप्रति पार्टीले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले शहीद पहारीसँग आफूले पनि लामो समय सहकार्य गरेको स्मरण गदैँ उहाँ जहिले पनि पार्टी र क्रान्तिप्रति जिम्मेवार रहेको उल्लेख गर्नुभयो ।
पार्टीका युवा नेता एवं शहीद पहारीसँग कास्की कारागारमासँगै जेल जीवन बिताउनुभएका नवराज भण्डारीले सैन्य हिरासतमा रहँदा पहारीलाई चरम यातना दिइएको र समयमै उपचार नपाउँदा निधन भएको बताउनुभयो ।शहीद पहारीकी जीवनसंगिनी दुर्गा पहारीले शहीद परिवारलाई पार्टीले विर्सिको गुनासो गर्नुभयो ।
नेकपा(माओवादी केन्द्र) पोखरा महानगर कमिटीका अध्यक्ष हरिनारायण गिरी(विज्ञान)को अध्यक्षतामा भएको कार्यक्रममा प्रेस सेन्टर नेपाल केन्द्रीय समितिका सचिव माधव पनेरु, पार्टी महानगर कमिटीका सचिव जनकराज पराजुली लगायतले देशले अहिले हासिल गरेका गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशीता जस्ता उपलब्धिहरु जनयुद्ध तथा जनआन्दोलनका शहीदका कारणबाटनै सम्भव भएको बताउँदै निरन्तर जनताको सेवामा लाग्दा मात्र उनीहरुका सपना पूरा हुने बताउनुभएको थियो ।
पत्रकार पहारीलाई माओवादीको अभियोगमा विसं २०६० मा सुरक्षाकर्मीले कास्कीको तत्कालीन ल्वाङघलेल गाविसको खोराकोमुखबाट गिरफ्तार गरी सैन्य हिरासतमा राखेका थिए । पछि कास्की कारागार चलान गरेकामा जलेभित्र उपचार अभावमा विसं २०६२ मा असोज १८ गते पहारीको कारागारमा निधन भएको थियो ।