पोखरा बसपार्क व्यवस्थित गर्दै महानगर

हिमाली आवाज । पर्यटकीय सहर पोखरामा आधुनिक र सुविधा सम्पन्न बसपार्क निर्माणका लागि विसं २०३२ मा दुई सय पाँच रोपनी क्षेत्रफल जमिन अधिग्रहण गरिएको थियो ।

पोखरा—९ पृथ्वीचोकमा बसपार्कका लागि छुट्टाइएको जमिनमा पाँच दशक पुग्न लाग्दा समेत हालसम्म बसपार्कका पूर्वाधार बन्न सकेका छैनन् ।
बसपार्कको जमिन लामो लामो समय देखी अव्यवस्थित रहेकामा पोखरा महानगरपालिकाले पछिल्लो समय यसलाई व्यवस्थित गर्न सुरुआत गरेको छ । चालू आर्थिक वर्षदेखी बसपार्क व्यवस्थित बनाउने अघि बढेको हो ।

सँधै हिलाम्य हुने बसपार्कको प्रवेशद्वार ढलान गरिएको छ भने छेउछाउमा रेलिङ निर्माण गरिएको छ । बसपार्क भित्र रहेका यातायात व्यवसायीहरूका काउन्टर तथा ग्यारेज र अटो पार्टसका पसलहरू हटाइएका छन् ।

बसपार्कलाई तत्काल अल्पकालीन र बिस्तारै दिगो रूपमा व्यवस्थापन गर्ने गरी योजना अघि बढाइएको महानगरको यातायात व्यवस्थापन समितिका संयोजक अमृत शर्मा तिमिल्सिनाले बताउनुभयो ।

उहाँका अनुसार बसपार्कभित्र पूर्वाधार नबन्दा लामो तथा बजार क्षेत्रभित्र चल्ने सबै बसहरु बसपार्क अगाडिको सडकबाट गन्तव्यका लागि छुट्ने गरेकामा साउन पहिलो सातादेखी सबै बसहरुले आफ्नो सेवा बसपार्कबाटनै दिने गरी व्यवस्था गरिएको छ । अहिले बसपार्कभित्रको जमिनमा खाल्डाखुल्डी पुरेर समथर बनाइएको छ ।

बसपार्कको पश्चिमतिरको भागमा ग्राभेल गरी सम्म्याउने काम भइरहेको छ । बसपार्कमा लामो समयसम्म पर्खाइमा बस्ने गाडीहरूको पार्किङका लागि वैकल्पिक स्थानको व्यवस्थापन गरिएको छ ।

तिमिल्सिनाले भन्नुभयो,“पोखरा बसपार्क तत्काल व्यवस्थापनको विकल्प छैन । यसलाई बिस्तारै व्यवस्थापन गर्दै अतिक्रमित बसपार्कको पुरै जमिनमा बसपार्क बनाउनु पर्दछ ।”
बसपार्कको समस्या निकै लामो समयदेखिको समस्या भएको उहाँले बताउनुभयो । यसको व्यवस्थापनमा कयौँ चूनौतीहरू रहेका भएपनि महानगरपालिका यस कार्यका निरन्तर लागि रहेको उहाँले बताउनुभयो ।नगर प्रमुख धनराज आचार्यले पोखरामा व्यवस्थित सिटी बसपार्क निर्माणको योजना रहेको बताउनुभयो ।

बसपार्कको जमिनमा बसिरहेका वास्तविक भूमिहीनहरूको उचित व्यवस्थापन गरी बसपार्कका लागि छुटाइएको अधिकतम जमिनमा व्यवस्थित बसपार्क निर्माण गर्ने योजनामा आफूहरू रहेको उहाँले बताउनुभयो ।

मुलुक कै दोस्रो ठुलो सहर पोखरा सातै प्रदेशको यातायात सञ्जालसँग जोडिएको छ । पोखराबाट सानातथा ठुला गरी दैनिक हजारौँ सवारी साधानहरु देशभरिका लागि छुट्ने गर्दछन् ।

महानगरले बसपार्क अगाडिको सडकमा पार्किङ समेत अहिले निषेध गरेको छ । यसअघि लामो तथा छोटो दुरीका बसहरु सडकमै पार्किङ
गर्दा सवारी आवागमनमा असर पर्नुका साथै बाहिरबाट आएका पर्यटकले बसपार्क अव्यवस्थित र कुरुप देखिदा पोखराको सौन्दर्यमाथि प्रश्न उठेपछि बसपार्क वरपरको सडकमा पार्किङ हटाइएको हो ।

Comments
Loading...