पहिराले थुनिएको कास्कीको किम्रोङखोला खोलियोे,जोखिम टर्यो

हिमाली आवाज । कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकास्थित पहिराले थुनिएको किम्रोङखोला आँफै खोलिएको छ ।

अन्नपूर्ण गाउँपालिका—११ स्थित डाँडामा गएको पहिराले शनिबार साँझ देखी खोला थुनिएर ताल बनेपछि नदी तटीय क्षेत्रमा त्रास बढेको थियो ।
सोही वडाका वडाध्यक्ष हिमबहादुर गुरुङले अपरान्हदेखी पहिरो गएको एक छेउबाट खोला आँफै बगेको र सम्भावित जोखिम टरेको बताउनुभयो । पहिराले खोला थुनिएपछि मोदी खोलाको तटीय क्षेत्रमा सतर्कता अपनाइएको थियो । पहिराले थुनिएको १५ घण्टापछि खोला बग्न सुरु गरेको थियो ।

किम्रोङखोला थुनिएपछि कास्की तथा पर्वत जिल्लामा दुबैतर्फ स्थानीय प्रशासनले तटिय क्षेत्रमा बसोबास गरेका नागरिकहरुलाई सूचना गरी सचेतना अपनाउन आग्रह गरेका थिए ।

वडाध्यक्ष गुरुङले भन्नुभयो,“हिजो राति ठूलो पहिरो खसेपछि खोला थुनिएर ताल बनेको थियो । अपरान्हदेखी विस्तारै बग्न सुरु गरेकामा साँझसम्म अधिकाँस खोलिएको छ । अब कुनै समस्या छैन ।”

किम्रोङखोला वडा नं ७ र ११ को सीमाना झिनोडाँडामा आएर मोदी नदीमा मिसिन्छ । मोदी खोला आसपासका अन्नपूर्णका वडा नं ११, १०, ८ र ७ का नदीको तटीय क्षेत्रमा बसोबास गरेकाहरुलाई सर्तक र सुरक्षित रहन गाउँपालिकाले सूचना जारी गरी आग्रह गरेको थियो ।

Comments
Loading...