हिमाली आवाज । पोखरामा आज शहीद शरदकुमार गौचनको छैटौँ स्मृति दिवसका अवसरमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
नेपाल निर्माण व्यवसायी संघ कास्कीले संघका संस्थापक अध्यक्ष एवं नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष गौचनको स्मृति दिवसका अवसरमा श्रद्धाञ्जली सभा आयोजना गरी उहाँप्रति श्रद्धासुमन व्यक्त गरेको हो ।
राष्ट्रबैँकचोकस्थित संघको कार्यालयसभाहलमा भएको कार्यक्रममा शहीद गौचनको तस्बिरमा माल्र्यापण तथा दीप प्रज्वलन सहित उहाँका योगदानका बारेमा चर्चा गरिएको थियो ।
गौचनको विसं २०७४ असोज २३ गते नयाँ बानेश्वरस्थित आफ्नो निवासबाट अनामनगरस्थित महासंघ कार्यालय आउने क्रममा निवास नजिकै आपराधिक समूहबाट गोली हानी हत्या भएको थियो । सरकारले गौचनलाई निर्माण क्षेत्रका शहीद घोषणा गरेको थियो ।

श्रद्धाञ्जली सभामा नेपाल निर्माण व्यवसायी संघ कास्कीका पूर्वअध्यक्ष एवं सल्लाहाकार चिरञ्जिवि पोखरेलले शहीद गौचनले कास्की संघको गठन, संघको कार्यालय भवन निर्माण लगायतका क्षेत्रमा अतुलनीय योगदान गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो,“ शहीद गौचनले कास्की संघका लागि ठूलो योगदान गर्नुभएको छ । उहाँमा सबै व्यवसायीलाई एकतावद्ध बनाएर लैजान सक्ने क्षमता थियो ।”
कार्यक्रमका सभाध्यक्ष एवं नेपाल निर्माण व्यवसायी संघ कास्कीका अध्यक्ष लिलकाजी गुरुङले गौचनको अकल्पनीय निधनबाट निर्माण क्षेत्रले अभिभावक गुमाएको बताउनुभयो । उहाँले नेपालको निर्माण क्षेत्रको विकासमा गौचनको ठूलो योगदान रहेको स्मरण गर्नुभयो ।
श्रद्धाञ्जलीसभा कार्यक्रममा स्वागत संघ वरिष्ठ उपाध्यक्ष सुवर्ण श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सचिव इन्जिनियर शिरष बास्तोलाले गर्नुभएको थियो । कार्यक्रममा संघ कास्कीमा आवद्ध निर्माण व्यवसायीहरुको उपस्थिति रहेको थियो । संघले हरेक वर्ष शहीद गौचनको स्मृति दिवसमा श्रद्धाञ्जली कार्यक्रम गर्दै आएको छ ।