पोखराको प्याराग्लाइडिङ पुनः सराङकोटबाटै उडान हुँदै

हिमाली आवाज । पोखराको साहसिक पर्यटनको गन्तव्य बनेको प्याराग्लाइडिङ सराङकोटस्थित पुरानैस्थान तोरीपानी क्षेत्रबाट सञ्चालनको हुने भएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै वर्षोदेखी ‘टेकअफ’ हुँदै आएको स्थानबाट विस्थापित भएर पोखरा—२४ मान्द्रेढुँगा पुगेकामा पछिल्लो समय पूर्ववतस्थानबाटनै सञ्चालन गर्न लागिएको हो ।

पोखरा प्याराग्लाइडिङ उडानका लागि उत्कृष्ट, प्राकृतिक हिसावले मनमोहक र हावपानीका हिसावले वर्षभरी उड्न मिल्ने हुँदा स्वदेशी एवं विदेशी पर्यटकहरुको रोजाइको विधा बन्दै आएको छ ।

अहिले उडान हुँदै आएको स्थान मान्द्रेढुँगा र अवतरणस्थल पामे दूरीका हिसाबले पनि टाढा रहेको छ । सुरुआतदेखीनै सराङकोटबाट उडान भरेर फेवाताल किनार खपौँदीमा अवतरणको दृश्यले आन्तरिक तथा बाह्य पर्यटकलाई उत्साहित बनाउने गरेको थियो ।

मान्द्रेढुँगाबाट उडान सञ्चालन गर्दा पर्यटक आकर्षित हुन सकेका थिएनन् भने प्याराग्लाइडिङ गर्नेहरुको सङ्ख्या समेट घटेको छ ।
नेपाल हवाई खेलकुद संस्था(ना)ले मान्द्रेढुँगाबाट हुँदै आएको प्याराग्लाइडिङ नेपाल नागरिक उड्डयन प्राधिकरणको सहयोगमा क्षेत्र विस्तार गरी वाहाकोट र तोरीपानीबाट उडान गरी पामे क्षेत्रमा ‘ल्यान्डिङ’ गर्ने निर्णय भएको जनाएको छ ।

नागरिक उड्डयन प्राधिकरण(क्यान)का विज्ञको सहयोग लिई विभिन्न समयमा गरिएको प्राविधिक अध्ययनबाट प्याराग्लाइडिङ उडान क्षेत्र विस्तार गर्न लागिएको नाका अध्यक्ष सुनील भट्टराईले बताउनुभयो ।

क्यानले लामो प्राविधक अध्ययन पछि तोरीपानी सम्म उडानलाई क्षेत्र विस्तार गर्न सहमति दिएको उहाँले बताउनुभयो । अध्यक्ष भट्टराईले भन्नुभयो,“मान्द्रेढुङ्गा क्षेत्र विस्तार गरी बाहाकोटबाट उडानको निर्णय भइसकेको छ । उक्त क्षेत्रको एआइपी प्रकाशित भएसँगै पूर्ववत स्थानबाट प्याराग्लाइडिङ सञ्चालन गछौँ । ”

पोखरामा दुई दशकअघिदेखी प्याराग्लाइडिङ सञ्चालन हुँदै आएको छ । पर्यटकीय सहरमा सञ्चालन भएको प्याराग्लाइडिङमा साहसिक पर्यटक आकर्षित हुँदै आएका छन् । पोखरा आउने विदेशी तथा स्वदेशी पर्यटक साहसिक गतिविधि प्याराग्लाइडिङमा रमाउने गर्दछन् ।

नागरिक उड्डयन प्राधिकरणका हवाई सुरक्षा विभागका प्रमुख राजु श्रेष्ठले प्याराग्लाइडिङमा सुरक्षालाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभयो । पोखराको पहिचानलाई देश विदेशमा स्थापित गर्न प्याराग्लाइडिङले ठूलो योगदान गरेको उहाँको भनाई छ ।
“आगामी दिनमा यहाँ प्याराग्लाइडिङका गतिविधिहरु अझ वृद्धि हुँदै जाहोस् । यसलाई सुरक्षित बनाउनेतर्फ ध्यान पुग्नुपर्दछ , विकासका लागि क्यानको तर्फबाट सहयोग गर्नेछौँ । ”श्रेष्ठले भन्नुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले प्याराग्लाइडिङले पोखराको समृद्धिमा योगदान गरेकाले यसलाई व्यवस्थित गर्नु आवश्यक रहेको बताउनुभयो । “प्याराग्लाइडिङको राम्रोसँग नियमन, अनुगमन र व्यवस्थापन गरी पोखराको ब्राण्डका रुपमा सँधै स्थापित गर्नु आवश्यक छ ।” श्रेष्ठले भन्नुभयो ।

हवाई खेलकुदको माध्यमबाट नेपालको पर्यटन विकास र विस्तारमा सहयोग गर्ने गरी विसं २०५९ मा नेपाल हवाई खेलकुद संस्थाको स्थापना गरिएको थियो । सुरुआतमा सात वटा प्याराग्लाइडिङ व्यवसायिक कम्पनीबाट संस्था सुरु गरिएकामा हाल ६२ वटा व्यवसायिक कम्पनीहरु रहेका छन् ।

त्यसैगरी कम्पनीहरु अन्तर्गत तीन सय ९९ जना प्याराग्लाइडिङ पाइलटहरु क्रियाशील रहेको नाका निर्वतमान अध्यक्ष एवं पोखरा पर्यटन परिषद्का उपाध्यक्ष कृष्ण भण्डारीले जानकारी दिनुभयो ।

Comments
Loading...