मणिपाल अस्पताल तोडफोड गर्ने दुई कारागार चलान,१० अझै फरार

हिमाली आवाज । तीन साताअघि पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सक माथि कुटपिट गर्ने र अस्पताल तोडफोड गर्ने दुई जना कारागार चलान भएका छन् ।यसैगरी उक्त घटनामा सङ्लग्न सात जना जनही रु एक लाख धरौटी बुझाएर तारेखमा रिहा भएका छन् ।

प्रहरीले पक्राउ परेकाहरुलाई स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ अन्तर्गत हातपात, तालाबन्दी तथा तोडफोड जस्ता कार्य गर्न नहुने कसुरमा अनुसन्धान प्रकृया अगाडि बढाएको थियो ।

प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय मार्फत अदालत पेश हुँदा कास्की जिल्ला अदालतबाट उनीहरुलाई कारवाहीको फैसला गरिएको हो ।

कारागार चलान हुनेहरुमा पोखरा महानगरपालिका—१७ हनुमान टोलका छावा भन्ने शुशिल कार्की र पोखरा—५ का विनय गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

यसैगरी घटनामा संलग्न पोखरा—४ का सुजित मुल्मी, पोखरा—५का अभिनास गुरुङ, अरुण गुरुङ, पोखरा—९ का नितेश गुरुङ, विवेक गुरुङ र पोखरा—२० का मनिष थापा र पोखरा—११ प्रदीप गुरुङ जनही रु एक लाख धरौटी राखी तारेखमा छुटेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो ।उहाँका अनुसार अझै पहिचान खुलेका १० जना र पहिचान नखुलेका अन्य व्यक्ति फरार रहेकाले खोजी कार्य भइरहेको छ ।

गत असोज ८ गते लमजुङ सुन्दरबजार नगरपालिका—६ की ५७ वर्षीया सुक माँया दुराको अस्पतालमा उपचारका क्रममा निधन भएपछि पोखरा महानगरपालिका—११ फूलबारी स्थित मणिपाल शिक्षण अस्पतालका चिकित्सकलाई मृतकका आफन्तले कुटपिट गरेका थिए ।

बिरामीको मृत्युपछि उपचारमा डाक्टरको लापरबाहीको कारण बिरामीको मृत्यु भएको र मृत्युको कारण खुलाउनु पर्ने माग राखी आन्दोलित भई उपचारमा संलग्न चिकित्सकलाई कुटपिट गरेका थिए ।अस्पताल तोडफोड गरेपछि कास्की प्रहरीले नौ जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो ।

पोखराको मणिपालका अस्पतालको घटनालाई लिएर कास्की सहित देशभरका चिकित्सकहरुले आकस्मिक बाहेकको सेवा बन्द गरी आन्दोलनमा उत्रिएका थिए ।सरकारले चिकित्सक कुटपिट गर्नेहरुलाई पक्राउ गरी कानुनी कारबाहीको प्रतिवद्धता जनाएपछि चिकित्सकहरुको आन्दोलन फिर्ता भएको थियो ।

Comments
Loading...