पोखराको प्याराग्लाइडिङ पुनः सराङकोटको तोरीपानीबाट सुरु, व्यवसायी उत्साहित

—कृष्ण दवाडी
हिमाली आवाज । पोखराको साहसिक पर्यटनको गन्तव्य बनेको प्याराग्लाइडिङको उडान आजदेखी पोखरा महानगरपालिका—१८ सराङकोटको तोरीपानीबाट सुरु गरिएको छ ।

पोखराको घुम्ने अधिकाँस पर्यटकको रोजाईमा पर्ने साहसिक प्याराग्लाइडिङ ब्राण्ड बनेकामा गत पुस १७ गतेदेखी अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै हवाई सुरक्षाका कारण सराङकोटबाट विस्थापित भएको थियो ।

विमानस्थल सञ्चालनपछि यसको भविष्यलाई लिएर पर्यटन क्षेत्रमा चिन्ता व्यक्त हुँदै आएकामा विस्थापित हुन नदिनका लागि तत्कालका लागि पोखरा—२४ मान्द्रेढुँगामा स्थानान्तरण गरिएको थियो ।

वर्षोदेखी सञ्चालन गर्दै आएको सराङकोट र तोरीपानीबाट विस्थापित हुनुपर्दा चिन्तित बनेका व्यवसायी र पाइलट नौ महिनापछि पुनःतोरीपानीमा फर्किएसँगै उत्साहित बनेका छन् । पर्यटनको मुख्य उपजका रुपमा रहेकाले पर्यटन क्षेत्रमा उत्साह छाएको हो ।

मान्द्रेढुँगा दूरीका हिसावले पनि टाढा रहेको र उचाईमा मौसमका कारणले समेत यहाँ स्थापित हुन सकेको थिएन । तोरीपानी क्षेत्रबाट पुनः उडान सुरुभएसँगै स्थानीयवासी समेत खुशी भएका छन् । पहिलो दिन उडानमा जाने पर्यटक र पाइलटलाई स्थानीयले माला र टीका लगाएर स्वागत समेत गरे ।

नेपाल हवाई खेलकुद संस्था(ना)ले नेपाल नागरिक उड्डयन प्राधिकरणको सहयोगमा मान्द्रेढुँगाबाट हुँदै आएको प्याराग्लाइडिङ क्षेत्र विस्तार गरी वाहाकोटको तोरीपानीबाट उडान गरी पामे क्षेत्रमा ‘ल्यान्डिङ’ सुरु गरेको हो ।

हवाइ क्षेत्रको नियमनकारी निकाय रहेको प्राधिकरणको लामो समयको अध्ययनपछि तोरीपानी क्षेत्रबाट प्याराग्लाइडिङ उडान गर्दा हवाई सुरक्षामा जोखिम नपर्ने प्रतिवेदनपछि यसलाई पूर्ववत स्थानमा फर्काइएको हो ।

पर्यटन व्यवसायीले भने सराङकोटसम्म क्षेत्र विस्तारको माग गरेका छन् । सराङकोटका विषयमा अझै अध्ययनको प्रक्रियामानै रहेको बताइन्छ ।

नेपाल हवाई खेलकुद संस्था(ना) का अध्यक्ष सुनिल बहादुर भट्टराईले पोखराको प्याराग्लाइडिङका सम्बन्धमा तयार गरिएको अध्ययन प्रतिवेदनपछि नागरिक उड्यन प्राधिरकणले पुरानै स्थानबाट ‘टेकअफ’को अनुमति प्रदान गरेको बताउनुभयो ।

उहाँका अनुसार प्राधिकरणको एटिएम विभागले ‘सेफ्टी रिक्स एसिस्मेन्ट’ गरी तोरीपानीबाट उड्न स्वीकृति दिएको हो । ‘टेकअफ’का लागि पूर्ववत स्थान प्राप्त भएपनि अवतरणका लागि भने पामे बजार नजिकको स्थानमानै गर्नुपर्नेछ ।

अध्यक्ष भट्टराईले भन्नुभयो,“पोखराको पहिचान बनेको प्याराग्लाइडिङको भविष्यलाई लिएर धेरै चिन्तित थियौँ । सबैको सहयोगबाट नौ महिनापछि पहिलाकै स्थानमा क्यानबाट टेकअफ अनुमति पाएका छौँ । यसबाट पुरानै लयमा प्याग्लाइडिङ फर्केनमा आशावादी छौँ, व्यवसायी, पाइलट लगायत सबै पोखरेली खुशी भएका छौँ । ”

मान्द्रेढुङ्गा अहिलेको स्थानबाट दुरीका हिसावले दुई किमी टाढा पर्छ । उडानस्थान सम्म पुग्न सडकको असुविधासँगै छिनछिनमा परिर्वतन हुने मौसमले प्याराग्लाइडिङले गति लिन सकेको थिएन । प्याराग्लाइडिङ गर्नेको सङ्ख्या समेत न्यून थियो ।

मान्द्रेढुँगामा लामो समय कुहिरो लाग्ने, हावाको गति समेत तलमाथि भइरहने र विहानमा लामो समय हुस्सुका कारण समयै पुगेका पर्यटकलाई समेत उडाउन अप्ठ्यारो हुने गरेको प्याराग्लाइडिङ पाइलट विजय गौतमले बताउनुभयो ।

“तोरीपानीभन्दा मान्द्रेढुँगा डेढ सय मिटर उचाईमा रहेकाले लामो समय हुस्सु लाग्थ्यो, सडकको अवस्था राम्रो थिएन ।”गौतमले भन्नुभयो, “त्यसैले त्यहाँ स्थापित हुनै सकेनौँ, पर्यटकलाई समेत बानी पार्नै सकिएन । अहिले पहिलाकै स्थानमा फर्किएका छौँ, यो ठाउँ सबै हिसावले उपयुक्त छ , हामी सबै पाइलटहरु उत्साहित भएका छौँ । ”

पोखरा आउने अधिकाँस पर्यटकको रोजाईमा पर्ने गरेको छ प्याराग्लाइडिङ । यसअघि सराङकोटबाट उडान हुँदा पर्यटकीय क्षेत्र लेकसाइड र बजार क्षेत्रबाट चरासरी उडेको दृश्यले सबैको ध्यान खिच्ने गरेको थियो । मान्द्रेढुँगाबाट उडान हुँदा प्याराग्लाइडिङको दृश्य पर्यटकले बजारबाट देख्न पाएका थिएनन् ।

नाका महासचिव खेमराज आचार्यले तोरीपानीबाट उडान सुरु भएपछि प्याराग्लाइडिङको आँफै प्रवद्र्धन हुने बताउनुहुन्छ । “प्याराग्लाइडिङको दृश्यले समेत यसको अटो प्रमोसन हुने गर्दछ । पुरानै स्थानमा फर्किएकाले यसले पहिलाकै लय समात्ने विश्वासमा छौँ, ल्याण्डिङको पहिलाको क्षेत्र खपौँदी अहिले अध्ययनको चरणमा छ । ” महासचिव आचार्यले भन्नुभयो ।

नाले व्यावसायिक उडान तोरीपानीबाट भएपनि सोलो(एकल) उडनलाई मान्द्रेढुँगा विकास गर्ने योजना बनाएको ।यससँगै तोरीपानीमा पर्यटकको चाप बढेको खण्डमा मान्द्रेढुुँगालाई समेत उपयोगमा ल्याउन सकिन्छ । पोखराको आकासमा अहिले सोलो उडान बन्द छ । नवौँ राष्ट्रिय खेलकुदका दौरानमा दुर्घटना भएपछि सोलो उडान बन्द हुँदै आएको छ ।

विसं २०७३ वैशाख १ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थल शिलान्याससँगै पोखराको प्याराग्लाइडिङको भविष्यलाई लिएर चासो र चिन्ता व्यक्त हुँदै आएको थियो । नागरिक उड्डयन प्राधिकरणले विभिन्न समयमा विभिन्न अध्ययन गर्दै आएको थियो ।

प्रतिवेदनहरुमा पोखराको पर्यटनको मुख्य गन्तव्य बनेकाले यसलाई विस्थापित नगरी अन्यत्र कतै स्थापित गर्नुपर्नैमा जोड दिइएको थियो । विमानस्थल उद्घाटनसँगै नागरिक उड्डयन प्राधिरकरणले विभिन्न सर्तहरु सहित १५ दिनका लागि मान्द्रेढुँगाबाट उडानको अनुमति दिएको थियो ।

पोखरा प्याराग्लाइडिङ उडानका लागि उत्कृष्ट, प्राकृतिक हिसावले मनमोहक र हावपानीका हिसावले वर्षभरी उड्न मिल्ने हुँदा स्वदेशी एवं विदेशी पर्यटकहरुको रोजाइको विधा बन्दै आएको छ ।

पोखरामा दुई दशकअघिदेखी प्याराग्लाइडिङ सञ्चालन हुँदै आएको छ । पर्यटकीय सहरमा सञ्चालन भएको प्याराग्लाइडिङमा साहसिक पर्यटक आकर्षित हुँदै आएका छन् । पोखरा आउने विदेशी तथा स्वदेशी पर्यटक साहसिक गतिविधि प्याराग्लाइडिङमा रमाउने गर्दछन् ।
हवाई खेलकुदको माध्यउमबाट नेपालको पर्यटन विकास र विस्तारमा सहयोग गर्ने उद्धेश्य सहित विसं २०५९ मा नेपाल हवाई खेलकुद संस्था(ना)को स्थापना गरिएको थियो ।

सुरुआतमा सात वटा प्याराग्लाइडिङ व्यवसायिक कम्पनीबाट संस्था सुरु गरिएकामा हाल ६२ वटा व्यवसायिक कम्पनीहरु रहेका छन् ।
त्यसैगरी कम्पनीहरु अन्तर्गत तीन सय ९९ जना प्याराग्लाइडिङ पाइलटहरु क्रियाशील रहेको नाका निर्वतमान अध्यक्ष एवं पोखरा पर्यटन परिषद्का उपाध्यक्ष कृष्ण भण्डारीले जानकारी दिनुभयो ।

उहाँले प्याराग्लाईडिङ बचाउनका लागि स्थानीय, प्रदेश, संघ सरकारबाट सकारात्मक सहयोग प्राप्त भएको बताउनुभयो ।“सबैको सहयोगले यहाँको पर्यटन क्षेत्रका लागि अति महत्वपूर्ण प्रडक्ट प्याराग्लाइडिङ जोगाउन सफल भएका छौँ ।” भण्डारीले भन्नुभयो ।

प्याराग्लाइडिङलाई सुरक्षित बनाउनका लागि पछिल्लो समय जिपिएस,लाइभ ट्याकर, रेडियो रिपिटर टावर सहित दुईतर्फी रेडियो सञ्चार र हटलाइन सेवा सञ्चालनमा ल्याइएको छ ।

Comments
Loading...