सगरमाथा निकेतनका विद्यार्थीद्धारा पोखराको केदारेश्वर मन्दिरको सरसफाई

हिमाली आवाज । पोखराको नयाँबजारमा रहेको सगरमाथा निकेतन स्कुलका विद्यार्थीहरु आज पोखराको धार्मिकस्थल केदारेश्वर महादेव मन्दिरको सरसफाई गरेका छन् ।

विद्यालयमा गठन गरिएको स्काउटका विद्यार्थी तथा शिक्षकहरुले दशैँका अवसर पारेर मन्दिर सरसफाई गरेका हुन् ।नेपालीहरुको महान् पर्व दशैँ सुरु भएसँगै यहाँका शक्तिपीठहरुमा श्रद्धालु भक्तजनहरुको उपस्थिति बाक्लो रहेको छ ।

दर्शनार्थीहरुको भीड बढेसँगै हुने फोहोरमैलाका कारण विभिन्न रोगहरुको संक्रमण फैलन सक्ने भएकाले सगरमाथाका विद्यार्थीहरु मन्दिरको सरसफाईमा सहभागी भएको विद्यालयका प्रिन्सिपल दीलिप कुमार शर्माले जानकारी दिनुभयो ।

केदारेश्वर मन्दिरमा दशैँका बेला टाढाटाढा देखि भक्तालुहरू आउने भएकोले मन्दिर सरसफाई गरिएको र यसबाट मन्दिरको शोभा बढेको प्रिन्सिपल शर्माले बताउनुभयो ।

प्राचार्य शर्माले भन्नुभयो,“ केदारेश्वर मन्दिर पोखराको पहिचान हो । मन्दिरको शोभा बचाइराख्नु हामी सबैको दायित्व हो, त्यो दायित्व हाम्रा विद्यालयका भाइवहिनीहरुले पूरा गर्ने प्रयास गरेका छन् ।” सगरमाथाका विद्यार्थीहरु यसअघि पनि अध्ययनसँगसँगै विभिन्न सामाजिक क्षेत्रका कार्यहरुमा समेत सहभागी हुने गरेका छन् ।

विद्यालयका शिक्षक कृति लामाले कक्षाकोठामा विद्यार्थीहरुलाई सिकाएको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्नका लागि प्रोत्साहन गर्दै आएको स्पष्ट पार्नुभयो ।

Comments
Loading...