हिमाली आवाज । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा अबदेखी विभिन्न कार्यक्रमहरुमा खादा प्रयोगलाई निषेध गरिएको छ ।
गाउँपालिकाभित्र सञ्चालन हुने जुनसुकै कार्यक्रम, सभा गोष्ठी, सेमिनार, बैठक आदिमा अतिधिको स्वागतका लागि खादाको प्रयोग नगर्ने निर्णय गरिएको छ ।

गाउँपालिकाले सार्वजनिक सूचना जारी गरी पालिकाभित्र उत्पादन नहुने आयातित खादा प्रयोग नगर्ने निर्णय गरिएको जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले खादा प्रयोगलाई पूर्ण रुपमा निरुत्साहित गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो,“ हाम्रो गाउँठाउमा उत्पादन हुने फूलहरु, गलबन्दी, भाँग्रा आदिले स्वागत गर्ने गाउ सभाको निर्णय बमोजिम आयतित खादालाई निरुत्साहित गर्ने निर्णय गरेका छौँ । चालू आवको पालिकाको वार्षिक नीति तथा कार्यक्रममा पनि यस विषयमा उल्लेख थियो । सोही कार्यक्रमलाई कार्यान्वयन गर्न खादा प्रयोग नगर्न सबैमा आग्रह गरेका छौँ ।” अन्य कार्यमा प्रयोग नहुने खादाको प्रयोगबाट केवल खर्च मात्र बढाउने भएकाले रोक लगाइएको अर्यालले बताउनुभयो ।