हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का केन्द्रीय सचिव एवं गण्डकी प्रदेशका इन्चार्ज देवेन्द्र पौडेलले पछिल्लो समय देशमा सामाजिक सद्भाव खलल पु¥याउने प्रयास गरिएको बताउनुभएको छ ।
नेकपा(माओवादी केन्द्र) पोखरा महानगर समितिले विजयादशमी लगायतका विभिन्न पर्वहरुका अवसरमा आज पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले अहिलेको व्यवस्था ल्याउनका लागि सहकार्य गरेका दलहरुबीच पुःन नयाँ प्रकारको सहकार्य आवश्यक भएको बताउनुभएको हो ।
नेता पौडेलले भन्नुभयो,“अहिलेको व्यवस्था र प्रणालीलाई उल्टाउनका लागि केही तत्वहरुले विभिन्न प्रकारले चलखेल गरेको र समाजलाई भड्काउँदै सामाजिक सद्भावमा खलल पु¥याउने प्रयास गरेको महसुस गरेका छौँ । त्यसका विरुद्ध अहिलेको प्रणालीका लागि सँगै लडेका शक्तिहरुबीच नयाँ प्रकारको सहकार्यको आवश्यकता छ ।”
समाजलाई भड्काउन खोज्नेहरुका विरुद्ध एकतावद्ध भएर मात्र गणतन्त्र, सङ्घीयता र अहिलेको प्रणालीको रक्षा गर्न सकिने उहाँले बताउनुभयो ।प्रतिनिधिसभाका सांसद समेत रहनुभएका नेता पौडेलले धार्मिक सद्भाव र सामाजिक सहकार्यको वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।

देशको अबको बाटो भनेको सुशासन सहितको समृद्धि र सामाजिका न्याय समितिको समाजवादी कार्यक्रम रहेको उहाँले उल्लेख गर्नुभयो ।
“हामी देशमा समृद्धि, समाजिक न्याय र प्राप्त उलपल्धीको रक्षा गरेर मात्र सुशासनमा अघि बढ्न सक्छौँ । सामाजिक न्याय, सुशासन र समृद्धिका लागि अहिलेको सरकारले काम गरिरहेको । त्यसमा सबैको साथ र सहयोग आवश्यक छ । ” नेता पौडेलले भन्नुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं उर्जा जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले निर्वाचनका समयमा जनताकाबीच गरेका बाचा पूरा गर्नका लागि सरकारले काम गरिरहेको बताउनुभयो । उहाँले सङ्घीयता अनुसार आवश्यक कानुन निर्माण गरेर प्रदेश सरकारहरुलाई अधिकार प्रत्यायोजित गर्नुपर्नेमा जोड दिनुभयो ।
पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले सङ्घ, प्रदेश र स्थानीय तीनै तहका सरकारको संयुक्त प्रयासबाट मात्र देशमा विकास र जनताका आवश्यकता पूरा गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, नेकपा(एमाले)का कास्कीका सचिव वैनबहादुर अधिकारी, नेपाली काँग्रेस कास्कीका सचिव भानुभक्त ढकाल, नेकपा(एकीकृत समाजवादी)का पोलिटव्युरो सदस्य श्रीनाथ बराल, नेकपा(माओवादी) पोखरा महानगरका इन्चार्ज पारशमणि पौडेल, पोखरा महानगरका अध्यक्ष हरिनारायण गिरी(विज्ञान), उपाध्यक्ष भानुभक्त अधिकारी, सचिव जनकराज पराजुली, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापति लगायतले आसन्न चाडपर्वले सामाजिक सद्भाव र एकता मजवुत बनाउने विश्वास व्यक्त गर्नुभयो ।