पोखराको तालबाराही मन्दिरको पुनः निर्माण सुरु

हिमाली आवाज । पोखरा महानगरपालिका –६ बैदामस्थित फेवातालको मध्यभागमा अवस्थित प्रसिद्ध तालबाराही मन्दिरको पुनः निर्माण थालिएको छ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आयोजित कार्यक्रममा मन्दिरको जग पूजा गर्दै पोखराको गहनाको रुपमा चिनिएको फेवाताल र तालबाराही मन्दिरको संरक्षण गर्ने जिम्मेवारी पोखरेली र तीनै तहका सरकारको भएको बताउनुभयो ।

पुरानै स्वरुपमा मन्दिर पुनःनिर्माण गरी मन्दिरका बारेमा भावी पुस्ताले समेत अध्ययन गर्ने थलो बन्न सक्ने उहाँले बताउनुभयो । विसं २०७२ सालको गोरखा भूकम्पकै कारण भुईंतलासहित तीनतले मन्दिर तीन इञ्च दक्षिणतर्फ ढल्किएपछि तालबाराहीमन्दिर गुठी व्यवस्थापन समितिले पुनःनिर्माण कार्य थालेको हो । समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले मन्दिर निर्माणका लागि १ करोड ४५ लाख लाग्ने जानकारी दिनुभयो ।

मन्दिर निर्माणका लागि पुरातत्व विभागबाट २५ लाख सहयोग प्राप्त हुनुका साथै प्रदेश, स्थानीय, सङ्घ सरकार र भक्तजनको सहयोगमा पुरानै स्वरुपमा कलात्मक ढाँचामा मन्दिर पुनः निर्माण गरिने कुँवरले बताउनुभयो ।

पोखराको प्रमुख पर्यटकीय धार्मिक गन्तव्यका रूपमा स्थापित तालबाराही पुरानो मन्दिर भत्काइएको छ । पुरानो मन्दिर भत्काएसँगै अर्को चाँदीको मूर्तिमा प्राणप्रतिष्ठा गरी नजिकैको हवनकुण्ड रहेको स्थानमा पूजाआजा गरिँदै आएको छ । पुरानो मन्दिर भत्काइए पनि बारही देवीको दर्शन गर्न दैनिक ठूलो सङ्ख्यामा दर्शनार्थी त्यहाँ पुग्ने गर्छन ।

मन्दिर पुनःनिर्माणका लागि तालबाराही मन्दिर गुठी व्यवस्थापन समिति र पुरातत्व विभागबीच समन्वय गरी आवश्यक काम अगाडि बढाइनेछ । मूल मन्दिर एक वर्षभित्र नै निर्माण सम्पन्न गर्ने योजनाका साथ समिति अगाडि बढेको जानकारी अध्यक्ष कुँवरले बताउनुभयो । हाल भत्काइएको मन्दिर २०१७ सालमा बनाइएको थियो ।

पुरानै शैलीमा कालीगढ मगाएर मन्दिर पुनःनिर्माणसँगै यहाँको समग्र व्यवस्थापानका लागि ९ करोडको गुरुयोजनासमेत तयार गरिएको जानकारी तालबाराही मन्दिर पुनःनिर्माण परियोजनाका प्राविधिक संयोजक प्रा डा भरत पहारीले दिनुभयो ।

४ रोपनी क्षेत्रफलमा फैलिएको उक्त मन्दिर क्षेत्रलाई व्यवस्थित बनाउन मन्दिर पुनः निर्माणसँगै अन्य संरचना निर्माणका लागि रु नौ करोड छुट्याइएको र मन्दिर परिसरका सम्पूर्ण संरचना दुई वर्षभित्र नै सम्पन्न गरिने जानकारी उहाँले जानकारी दिनुभयो ।

Comments
Loading...