धार्मिक तीर्थस्थल आर्वा मणिदीपमा नवरात्र महोत्सव

हिमाली आवाज । पोखरा महानगर पालिका वडा नं १३ स्थित प्रसिद्ध धार्मिक, पर्यटकीय स्थल आर्वा मणिदिपमा विजयादशमीको अवसर पारेर घटस्थापना देखी “महाकाली दिव्य महाआरती तथा सवा लाख हवन नवरात्र महोत्सव २०८०” आयोजना गरियो ।

श्री नागेश्वर महादेव महाकाली मन्दिर विकास समितिको आयोजनामा भएको कार्यक्रममा घटस्थापनाका दिन दिव्य महाआरती कार्यक्रम भव्य रुपमा सम्पन्न भएको थियो । सो कार्यक्रमको शुभारम्भ पोखरा महानगर पालिका वडा नं १३का वडा अध्यक्ष किरण बरालले गर्नुभयो । अध्यक्ष वरालले समग्र आर्वाको धार्मिक पर्यटकीय तीर्थस्थल मणिदिपको विकास गर्न वडा नं १३ कार्यालयले वार्षिक रूपमा सहयोग गर्दै जाने प्रतिवद्धता जनाउनुभयो ।

कास्की जिल्लामै अलौकिक महाकाली मन्दिर रहेको मणिदिपमा महाकाली दुर्गा मातारानीको शक्ति जागृत गराउने लक्ष्यका साथ सवा लाख हवन अर्थात् नवरात्र महोत्सव आयोजना गरिएको मन्दिर विकास समितिका सचिव शिवराज वरालले जानकारी दिनुभयो ।

नवरात्र महोत्सवमा दैनिक दुर्गा माताको विशेष पूजा अर्चना गरिनुका साथै हवन गरिदै आइएको छ। महा नवमीका दिन सम्म सन्चालन हुने कार्यक्रममा विभिन्न धार्मिक श्रद्धालु भक्तजनहरूको सहभागिता रहदै आएको छ।

मन्दिर विकास समितिका अध्यक्ष विष्णु प्रसाद वरालले पुन्य कमाउने यस धार्मिक सवा लाख हवन कार्यक्रममा सवै हिन्दु धर्मावलम्बीहरुलाई सहभागी भै पित्रि ऊध्दार, अक्षय पुण्यलाभ, पारिवारिक सुख शान्ति प्राप्ती गर्न आव्हान गरिएको बताउनुभयो ।

वडा दशैँ अन्तर्गत फूलपातीका दिन मणिदिपबाट बाजा गाजा, भजन कीर्तन गर्दै आर्वाको आहाडी स्थित नव दुर्गाको मन्दिर पुगी फुलपाती भित्र्याउने कार्य पनि सम्पन्न भएको छ।

आर्वा गाउँ आफैंमा धार्मिक पर्यटकीय तथा विविध तीर्थस्थलहरुले सुसज्जित ठाउँ हो। आवश्यक प्रचार प्रसारको कमीले पछाडि परेको यो पवित्र स्थलमा जनस्तरबाट पहिलो पटक आयोजना गरिएको सवा लाख अर्थात् एक लाख पच्चिस हजार हवन जस्तो महत्वपूर्ण कार्यक्रमले पक्कै पनी आर्वाको समग्र धार्मिक पर्यटकीय विकासमा कोसेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ।

Comments
Loading...