फिर्केका अतिक्रमित संरचना हटाउन पोखरा महानगरको ३५ दिने अल्टिमेटम

हिमाली आवाज । पोखरा महानगरपालिकाले बजार क्षेत्रभित्रबाट बग्ने फिर्केखोलाको खोलाघर भित्र बनेका संरचना हटाउने भएको छ ।
पोखरा—ं १८ को अधेरीकुनादेखि सुरु भएर फेवातालमा मिसिने फिर्केखोलाको मापदण्ड विपरित निर्माण गरिएका संरचना हटाउनका लागि महानगरले ३५ दिने सार्वजनिक सूचना जारी गरेको हो ।

यसअघि महानगरबाट खटिएको प्राविधिक टोलीले स्थलगत नापजाँच गरी पोल गाडिएको भन्दा भित्र पर्ने स्थायी तथा अस्थायी संरचनाहरू हटाइने महानगरले जनाएको छ ।

गत साउन पहिलो साता महानगरले फिर्के खोलाको प्राकृतिक बहाव पत्ता लगाउनका लागि प्राविधिक समिति बनाएर सिमाङ्कन सुरु गरेको थियो । सो प्राविधिक समितिले एक महिना लगाएर खोलाको नाप जाँच गरेको थियो ।

प्राविधिक समितिको प्रतिवेदन अनुसार फिर्के खोलाघर माथी स्थायीदेखी अस्थायी प्रकृतिका एक सय ६० संरचनाहरु निर्माण गरेको पाइएको थियो । फिर्के अतिक्रमण गरी खोलामाथि सामाजिक संघसंस्था, विद्यालय तथा व्यक्तिगत घर तथा संरचना बनाएको पाइएको हो ।

फिर्केखोलानै मिचेर ९७ वटा अस्थायी संरचनाहरू र ३५ वटा स्थायी संरचनाहरू निर्माण गरेको पाइएको छ । खोलामाथी १० अस्थायी र १८ वटा स्थायी प्रकृतिका संस्थागत संरचनाहरु निर्माण गरिएको प्रतिवेदनमा उल्लेख छ ।

महानगरले अतिक्रमित संरचनाहरू नहटाएमा महानगरपालिका आफैले हटाउने र सो क्रममा लाग्ने लागत समेत सम्बन्धित व्यक्ति वा संस्थाले सरकारी बाँकी सरह भुक्तानी गर्नुपर्ने जनाएको छ ।

साबिक ग्यारजाती पछि सराङकोट गाविस हुँदै हाल पोखरा महानगरपालिकाको वडा नं.१८,२,४,५,७,८,६ र १७ भएर फेवातालमा मिसिने फिर्के खोलाको लम्बाइ आठ किलोमिटर छ ।

यो खोला कम्तीमा ३.३० मिटरदेखि बढीमा ४० मिटरसम्म फराकिलो रहेको नापजाँचका क्रममा पाइएको छ । खोलाको उचाइ चार देखी नौ मिटरसम्म गहिरो रहेको पाइएको हो ।

फिर्केखोलाको प्राविधिक नाप जाँच पछि यकिन गरिएको खोला घरको पश्चिमतर्फ तीन सय तीन र पूर्वतर्फ दुई सय ८५ गरी पाँच सय ८८ सिमा स्तम्भहरु गाडिएका छन् । प्रतिवेदनअनुसार फिर्केखोला माथि २५ वटा पुल तथा कल्भर्टहरु रहेका छन् ।महानगर प्रमुख धनराज आचार्यले सिमाङ्कन समितिको प्रतिवेदनलाई कार्यान्वयन गर्न लागिएको बताउनुभयो ।

प्रमुख आचार्यले भन्नुभयो,“सम्बन्धित सरोकारवालाहरुसँग समन्वय गरेर खोला मिचेर बनाइएका संरचनाहरु हटाइनेछ ।”दिगो पर्यटन विकास परियोजना अन्तरगत फिर्केको संरक्षण, सम्बद्र्धन र विशेष सौन्दर्यीकरणको उद्देश्य सहित फिर्के कोरिडोरको विकास कार्यक्रम सञ्चालन गरिने प्रमुख आचार्यले बताउनुभयो ।

Comments
Loading...