हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू अझै २० वर्ष राजनीतिमा सक्रिय हुने चाहना रहेको बताउनुभएको छ ।
नेकपा एमाले गण्डकी प्रदेश अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण कार्यक्रमलाई आज पोखरामा सम्बोधन गर्दै ओलीले २० वर्ष राजनीति गर्ने घोषणा गर्नुभयो । “पदमा बस्छु बन्दिन बेग्लै कुरा हो तर म अझै २० वर्ष राजनीति गर्छु । यसो भन्दा अचम्म मान्छन् मान्छेहरु । मेरो बुवा अझै तगडा हुनुहुन्छ, यति भनेपछि पुग्छ ।” अध्यक्ष ओलीले भन्नुभयो ।
अध्यक्ष ओलीले एयरपोर्ट र भन्सारबाट अहिले तस्करीमात्रै हुनेगरेको आरोप लगाउनुभयो । देशमा अहिले डकैती भइरहेको छ ओलीले भन्नुभयो,‘एयरपोर्टबाट क्वीन्टलका क्वीन्टल सुन तस्करी हुने गरेको छ । क्वीन्टल सुन आउँछ त्यो साठी केजीमा झर्छ । साढे ९ केजी सुन पक्राउ पर्दा लेनदेन भएर अरु कहाँ पुग्छ र २ केजी मात्रै रहन्छ ।’
गठबन्धन सरकारले बहादुरी गरेर नेपाललाई एसियाको सबैभन्दा गरीब देश बनाउन सफल भएको टिप्पणी गर्नुभयो । आफ्नो पालामा उत्पादन, रेमिटान्स, रोजगारीलगायत बढेका कारण राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमा वाहवाही पाएपनि अहिलेको सरकारले सबभन्दा गरीब बनाएर बद्नाम गरेको जिकिर ओलीको छ ।

एमाले उपाध्यक्ष रामबहादुर थापाले प्रचण्ड, माधव नेपालहरु दक्षिणपन्थी अवसरवादी भएको संगीन आरोप लगाउँदै देशमा राष्ट्रवादी र राष्ट्रघातीबीच द्वन्द्व चलेका कारण उथलपुथल भइरहेको बताउनुभयो ।
उपमहासचिव पृथ्वी सुब्बा गुरुङले पार्टी भित्र दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतावाद जबरजस्त रुपमा रहेको बताउँदै त्यसलाई मिलेर परास्त गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा एमाले सचिव तथा गण्डकी प्रदेश ईञ्चार्ज गोकर्ण विष्ट, गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री एवं केन्द्रीय सदस्य खगराज अधिकारी लगायतले एकतावद्ध र बलियो एमाले देशको आवश्यकता रहेको बताउनुभएको थियो ।
कार्यक्रममा नव निर्वाचित कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई सपथ खुवाइएको थियो । एमाले गण्डकीको प्रथम अधिवेशनबाट नवराज शर्माले मायानाथ अधिकारीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।