भिजन लुम्बिनीको आइपिओ खुल्यो, पहिलो दिनमै माग भन्दा बढीको आवेदन

हिमाली आवाज । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन सेती नदी जलविद्युत आयोजनाको प्रवद्र्धक भिजन लुम्बिनी उर्जा कम्पनीले सर्वसाधारणका लागि बिहीबारदेखी प्रारम्भिक सार्वजनिक निष्कासन(आइपिओ) बिक्री खुला गरेको छ ।माछापुच्छ्रे गाउँपालिका—२ सार्दिखोलामा निर्माण भइरहेको आयोजना २५ मेगावाट क्षमताको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरेको आइपिओ बाँडफाँटपछि सर्वसाधारणका लागि आइपिओ जारी गरेको भिजन लुम्बिनी उर्जा कम्पनी प्रालिका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले बताउनुभयो ।

उहाँका अनुसार कम्पनीले सर्वसाधारणका लागि कुल २० लाख ७५ हजार २८५ कित्ता साधारण शेयर निष्काशन गरेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरु, सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीहरुलाई बाँडफाँट गरी बाँकी रहेको चार लाख ८७ हजार ९१० कित्ता शेयर सहित समेत सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

यसअघि आयोजनाको प्रभावित क्षेत्रका रुपमा रहेका माछापुच्छ्रे गाउँपालिका वडा नं १, २, ३, ४ र पोखरा महानगरपालिका-१९ का स्थानीय बासिन्दाका लागि जारी गरिएको शेयरमा १३ लाख ६८ हजार १ सय ५० हजार कित्ता आवेदन परेको थियो । प्रभावित क्षेत्रका लागि निष्कासन गरिएको चार लाख कित्ता शेयर बिक्री हुन सकेको थिएन ।

सर्वसाधारणका लागि जारी गरिएको आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ । यसैगरी अधिकतममा तीन लाख ८० हजार कित्ता शेयरका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीको आइपिओमा पहिलोदिनमानै बढी आवेदन परेको छ । पहिलो दिनमानै २९ लाख बढी कित्ताको आवेदन परेको हो ।निष्काशन बन्द छिटोमा कात्तिक २० गते र ढिलोमा मङ्सिर १ गते सम्म हुने कम्पनीले जनाएको छ ।कम्पनीका कार्यकारी अध्यक्ष पोखरेलले आयोजना सम्पन्न हुने अन्तिम चरणमा पुगेको बताउनुभयो ।

Comments
Loading...