हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) गण्डकी प्रदेश कार्यालयको विस्तारित बैठकमा नेताहरुको सम्पत्ति सामाजिक लेखा परीक्षण गर्नुपर्ने विषयले प्रवेश पाएको छ ।
पछिल्लो समय माओवादीका नेता कार्यकर्ताहरुले बैठक तथा सामाजिक सञ्जालबाट समेत राजनीतिक नियुक्ति पाएकाहरुको सम्पत्ति सार्वजनिक र सामाजिक परीक्षणको माग गर्दै आएका छन् ।
माओवादी केन्द्र गण्डकीको आजको विस्तारित बैठकमा पार्टीका केही नेताहरुले नेता कार्यकर्ताहरुको सम्पत्तिको स्रोत सार्वजनिक गरेर पारदर्शी हुनुपर्ने विषय उठाउनुभएको स्रोतले जनाएको छ ।
बैठकमा नेताहरुले जनताको विश्वास अझै पनि माओवादी प्रति रहेकाले माओवादीका सबै नेताहरु जिम्मेवार र पारदर्शी बनेर सम्पत्तिको सामाजिक परिक्षण गर्नुपर्नेमा जोड दिनुभएको बताइन्छ ।

गण्डकी प्रदेशका पूर्वअर्थमन्त्री समेत रहनुभएका पार्टीका केन्द्रीय सदस्य रामजी प्रसाद बराल(जीवन)ले केही दिनअघि सामाजिक सञ्जालबाट पटक पटक सांसद, मन्त्री र राजनीतिक नियुक्ति पाएका माओवादी नेता तथा कार्यकर्ताहरुको चल अचल सम्पत्ति आम जनताले थाहा पाउने गरी लेखापरीक्षण गर्न पार्टीबाटनै घोषणा गर्नुपर्ने माग गर्नुभएको थियो ।
बैठकमा नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले पार्टीले सञ्चालन गरिरहेको जनतासँग माओवादी विशेष रुपान्तरण अभियानले पार्टीका कार्यकर्ता र जनतामा उत्साह छाएको बताउनुभएको थियो ।
महासचिव गुरुङले पार्टी गत भदौ १६ गतेदेखी सुरु भएको अभियान पदाधिकारी बैठकले एक महिना थप गरी पुस १५ गतेसम्म पु¥याएको जानकारी दिनुभयो ।
महासचिव गुरुङले भन्नुभयो,“अभियानले पार्टीलाई गतिशिल बनाएको छ । पार्टीका सबै नेता तथा कार्यकर्ता एकतावद्ध भएर अभियानमा जोडिनुभएको छ । यसले पार्टीभित्र र बाहिर समेत नयाँ सञ्चार भएको छ, उत्साह छाएको छ। ”
महासचिव गुरुङले पार्टीको नेतृत्वमा रहेको सरकारले धेरै जनपक्षिय कामहरु गरिरहेकाले सरकारले गरेका राम्रा कामहरुलाई जनतामा प्रचार गर्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।
पार्टीका केन्द्रीय सचिव एवं गण्डकी प्रदेशका इन्चार्ज देवेन्द्र पौडेलले गणतन्त्र, सङ्घीयता र अहिलेको प्रणालीको रक्षा गर्नका लागि समेत माओवादी केन्द्र शक्तिशाली बन्नुपर्ने धारणा राख्नुभयो । देशमा प्राप्त उपलव्धीहरुको रक्षा गर्नु अहिलेको आवश्यकता रहेकाले पछिल्लो समय देखिएका व्यवस्था विरोधी गतिविधिका विरुद्ध अभियानका क्रममा जनतालाई समेत प्रशिक्षित गर्न उहाँले आग्रह गर्नुभयो ।
बैठकमा पार्टीका गण्डकी प्रदेश समितिका अध्यक्ष गायत्री गुरुङले प्रदेशका सात सय ५९ वटै वडामा सञ्चालन भइरहेको ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ अभियानको बारेमा जानकारी गराउनुभएको थियो ।