एसियाली विकास बैँकले पोखरामा थप परियोजनामा सहयोग गर्ने

हिमाली आवाज । नेपालको विकास साझेदार संस्था एसियाली विकास बैँङ्क(एडिबी) ले पोखराका थप परियोजनाहरुमा सहयोग गर्ने भएको छ ।
पोखराको पर्यटन, पूर्वाधार विकास, ढल निकास लगायतका विभिन्न क्षेत्रमा सहयोग गरेको बैँकले थप परियोजनामा लगानी गर्ने चाहना राखेको हो ।
एशियाली विकास बैँङ्कका वरिष्ठ सार्वजनिक व्यवस्थापन विशेषज्ञ अरुण राममूर्तिले बिहीबार महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग उहाँको कार्यकक्षमा भेटवार्ता गर्दै सहयोगको प्रतिवद्धता व्यक्त गर्नुभयो । राममूर्ति बैँङ्कको दिगो विकास र जलवायु परिवर्तन विभागका समेत विशेषज्ञ हुनुहुन्छ ।
भेटवार्ताका क्रममा राममुर्तिले एडिबीको सहयोगमा सञ्चालित विभिन्न परियोजनाहरूको बारेमा जिज्ञासा राख्नुका साथै सहकार्यका नयाँ सम्भावनाका विषयमा छलफल गर्नुभएको महानगर प्रमुख आचार्यले बताउनुभयो ।

उहाँका अनुसार पूर्वाधार निर्माण सहित दिगो पर्यटन विकासका लागि सञ्चालित विभिन्न परियोजनाहरूमा एडिबीको सहयोग रहेको छ ।
“हाल सञ्चालित परियोजनाका बारेमा छलफल भयो । थप परियोजनाहरूमा समेत सहयोग गर्न एडिबी सकारात्मक रहेको छ ।” महानगर प्रमुख आचार्यले भन्नुभयो ।

आचार्यले पोखराको पूर्वाधार सहित पर्यटन विकासका सन्दर्भमा एडिबीले गरेको सहयोग प्रति आभार प्रकट गर्दै सहयोग तथा सहकार्यका थुप्रै सम्भावनाहरूको पहिचान गरिएको जनाउनुभयो ।

पोखरा पर्यटनको राजधानी सहरका रूपमा घोषणा हुने क्रममा रहेको बताउँदै उहाँले दिगो पर्यटन विकास आवश्यक रहेको बताउनुभयो ।
एडिबीको सहयोगमा हाल ठूलो परियोजनाका रूपमा पोखरा—मुग्लिन सडक विस्तार आयोजनाको काम भइरहेको छ । यसैगरी पोखराको दिगो पर्यटन विकासका सम्बन्धमा विभिन्न १५ वटा परियोजनामा सम्झौता भई काम अघि बढिरहेको छ ।

एडिबीको सहयोगमा पोखराको ढल निकास, सडक, फुटपाथ र सडक सुधार परियोजना अन्तरगत सडक सुरक्षा उपायहरूको योजना सहित विद्यमान सडक र ढलको स्तरोन्नति गर्ने यसअघिनै सम्झौता भइसकेको छ ।

महानगरका अनुसार एडिबीले पोखराका विभिन्न परियोजनाहरुमा आर्थिक सहयोग गर्नेभएको छ । त्यस्ता परियोजनाहरु छनोट भइसकेका छन् । जसअन्र्तगत शहीदचोक–तीनकुने–राधाकृष्ण मार्ग–एसओएस–घले चोक–हरियो खर्क–पीआईए आठ किमी आठ सय मिटर सडक सुधार योजनालाई अन्तिम रूप दिइएको छ । यसका लागि ५.३४ मिलियन अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ ।

पञ्चासे पारिस्थितिक विकास र पहुँच परियोजना अन्तरगत दमदमेदेखि भन्ज्याङसम्मको १३ किलोमिटर सडक कालोपत्रे, भन्ज्याङदेखि पञ्चासेसम्म बाटोको स्तरोन्नति, सुविधा सहितका सर्भिस प्वाइन्टहरू स्थापना, विद्यमान होमस्टेको एकीकृत प्रवद्र्धन योजना र गुरुङ सङ्ग्रहालयको संरक्षणका लागि तीन दशमलव पाँच मिलियन अमेरिकी डलर खर्च हुनेछ । पञ्चासे एक सय भन्दा बढी प्रजातिका अर्किड र पोखरीहरू रहेको एक प्रसिद्ध तीर्थस्थल र संरक्षित वन क्षेत्र हो ।

एडिबीकै सहयोगमा ‘लेक टु लेक’ साइकल ट्रयाक र फेवाताल सुधार परियोजना समेत सञ्चालनको क्रममा रहेको छ । परियोजना अनुसार नौ वटा ताल र १८ वटा वडाहरूलाई जोड्ने गरी ८५ किलोमिटर लामो साइकल ट्र्याक निर्माण हुनेछ ।

फेवाताल सुधार परियोजना अन्तरगत बसाइ व्यवस्थापन, शौचालय, वाटर फाउन्टेन, वाटर स्प्रिङ प्रोटेक्सन, इन्फरमेसन बोर्ड, डाइरेक्शन बोर्ड, साइकल पार्किङ, सर्भिस पोइन्टसहित साइकल स्ट्यान्डहरूको निर्माण गरिनेछ । यसमा तीन दशमवल पाँच मिलियन अमेरिकी डलर खर्च हुने महानगरले जनाएको छ ।
रानीवन इको ट्रेल र फेवाताल सुधार परियोजना अन्तरगत ड्यामसाइडबाट रानीवनलाई सिसाको पुलले जोड्ने, शान्ति स्तूप र फेवातालको परिधिलाई एकीकृत रूपमा जोड्दै रानीवनबाट इको ट्रेल विकास गर्ने योजना रहेको छ ।

Comments
Loading...