गण्डकी सरकारले भूकम्प पीडितलाई रु एक करोड सहयोग गर्ने

हिमाली आवाज । गण्डकी प्रदेश सरकारले भूकप्प प्रभावितहरुका लागि रु एक करोड सहयोग गर्ने भएको छ ।

पोखरामा आज विहान बसको मन्त्रिपरिषद्को बैठकले प्रदेश भूकम्प प्रभावितहरुलाई सहयोगका लागि कर्णाली प्रदेश सरकारलाई सो रकम उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताउनुभयो ।

उहाँले भन्नुभयो,“भुकम्पले कर्णाली प्रदेशमा ठूलो मानवीय र भौतिक क्षति भयो, एउटा प्रदेशका नागरिकलाई विपद् पर्दा अर्कोले सहयोग गर्नुपर्छ भनेर हामीले रु एक करोड दिने निर्णय गरेका छौँ ।”

गण्डकी प्रदेश सरकारले भूकम्प प्रभावितको उद्धार र उपचारका लागि औषधी सहित विषेशज्ञ चिकित्सकको टोली पठाएको छ ।

प्रदेश सरकार मातहतको सङ्क्रामक तथा सरुवा रोग अस्पतालका प्रमुख डा विकास गौचनको नेतृत्वमा मेडिकल, हाडजोर्नी र एनेस्थिेसियाको विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मी र उपचार सामग्री सहित भुकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा पठाएको हो ।

“स्वास्थ्यकर्मी सहितको टोली भुकम्प प्रभावित क्षेत्रमा पुगेर उपचार गराईरहनुभएको छ । हामीले हाम्रो तर्फबाट सक्दो सहयोग गरिरहेका छौँ ।” मुख्यमन्त्री पाण्डेले भन्नुभयो । प्रदेश सरकारले उद्धारका लागि पठाएको टोली शनिबार स्थलमार्ग हुँदै प्रभावित क्षेत्र पुगेको हो ।

मन्त्रिपरिषद् बैठकले भुकम्पका कारणले मृत्यू हुने कर्णालीवासी नागरिक प्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदन र घाईतेको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

यसैगरी पोखरा महानगरपालिकाले पनि भूकम्प प्रभावितहरुका लागि रु ५० लाख सहयोगको घोषणा गरेको छ । महानगरले समेत प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी सहितको उद्धार टोली शनिबार साँझ पठाएको हो ।

Comments
Loading...