‘पुतली बाजे’ जसको जीवन पुतली अध्ययनमा बित्यो,पोखरामा अन्तिम बिदाई

—कृष्ण दवाडी
हिमाली आवाज । नेपालमा पुतलीको अध्ययनमा आफ्नो जीवन समर्पित गर्नुभएका कोलिन फिलिप स्मिथ ‘पुतली बाजे’को आज अन्तिम बिदाई गरिएको छ ।

कोलिनको पोखरा महानगरपालिकाले श्रद्धाञ्जलीसभा आयोजना गरी बिदाई गरेको हो । पुतली बाजेको पार्थिव शरीर पृथ्वीनारायण क्याम्पस परिसरमा रहेको ‘बटरफ्लाई म्युजियम’को प्राङ्गणमा राखिएदा उहाँलाई अन्तिम श्रदाञ्जलीका लागि उहाँका विद्यार्थी तथा सहपाठीको बाक्लो उपस्थिति थियो ।
कोलिनको पार्थिव शरीरमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले राष्ट्रिय झण्डा ओढाउनुभयो । बेलायतबाट सन् १९६६ मा ३० वर्षको उमेरमा युनाइटेड मिसनमार्फत शिक्षण पेशका लागि नेपाल आउनुभएका उहाँको पूरै जीवन नेपालमा पुतलीको अध्ययन र अनुसन्धानमा व्यतित भयो ।
शिक्षा र प्रकृति संरक्षणमा नेपालमा गरेको योगदान स्वरुप सरकारले उहाँलाई सन् २०१९ मा सम्मानार्थ नागरिकता प्रदान गरेको थियो । कोलिनले नेपालका धेरै जिल्लामा पुगेर छ सय भन्दा बढी प्रजातिका पुतली संकलन गर्नुभएको थियो ।

कोलिनले नेपालमा पुतलीको अध्ययन सहित पोखरा, गोरखा र काठमाडौँमा शिक्षण समेत गर्नुभयो । महानगर प्रमुख आचार्यले पुतलीको माध्यमबाट नेपाललाई विश्वसामु चिनाउन उहाँको अतुलनीय योगदान रहेको स्मरण गर्नुभयो ।

उहाँले भन्नुभयो “नेपालको डाँडाकाँडा, भीर पाखा र पखेरा पुगेर छ सयभन्दा बढी प्रजातिका पुतली सङ्कलन गरेर ठूलो गुन लगाउनुभएको छ । मानव जीवन र पर्यावरणमा पुतलीको ठूलो भूमिका हुन्छ भनेर उहाँले उजागार गर्नुभयो । ”

आफ्नो व्यक्तिगत जिन्दगी र देश समेत छाडेर नेपाल र पोखरालाई आफ्नो घर बनाएर पोखरेली भएर मर्न पाउुँ भन्ने उहाँको आकाङ्क्षा अद्धितिय रहेको प्रमुख आचार्यको भनाई छ । जीवनमा कोलिनले कसैलाई नपिराएको र सबैसँग अपनत्व रहेर बिदा हुुनुभएको उहाँलाई बुझ्ने र जान्नेहरुको भनाई छ ।

स्व कलिन गणितको शिक्षक भएर पनि प्रकृतिको संरक्षणमा लाग्नुभएको थियो । उहाँकै अग्रसरतामा पृथ्वीनारायण क्याम्पस परिसरमा पुतली सङग्रहालय स्थापना गरिएको छ । देश तथा विदेशबाट समेत सो सङ्ग्रहालको अध्ययन अवलोकनका लागि प्रकृतिप्रेमीहरु आउने गरेका छन् । सङ्ग्रहालामा कोलिनले सङ्कलन गर्नुभएका पाँच सय ८७ प्रकारका पुतली राखिएको छ । पृथ्वीनारायण क्याम्पसँग समन्वय गरेर अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप)ले सङ्ग्रहालय व्यवस्थापन गर्दै आएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना प्रमुख डा रविन कडरियाले साना पुतलीहरुको संरक्षण गर्नुपर्दछ भन्ने धारणाको विकासमा स्व कोलिनले योगदान गरेको बताउनुभयो । विदेशबाट आएर नेपालको पुतलीको अध्ययन र अनुसन्धानमा उहाँको जीवन व्यतित भएको उहाँले स्मरण गर्नुभयो ।

“कोलिनले प्रकृतिप्रति माया गर्नुभयो । साना पुतलीहरुलाई संरक्षण गर्नु पर्दछ भन्ने धारणा विकास गरेर जानुभएको छ । आफ्नो काममा दत्तचित्त भएर लाग्दा उपलब्धी हुने र राज्यलाई समेत योगदान गर्न सकिन्छ भन्ने शिक्षा हामीले उहाँबाट पाउन सक्छौँ ।” कडरियाले भन्नुभयो ।

पृथ्वीनारायण क्याम्पसका संस्थापक क्याम्पस प्रमुख जोर्ज जोनले नेपालमा नचिनेका र नजानेका मानिसका लागि कोलिनले जीवन समर्पित गरेको बताउनुभयो । उहाँले भन्नुभयो,“ नेपालमा काम गर्दा केही पनि पाउनुभएन, दिनु मात्र भएको छ । उहाँको समर्पित जीवनबाट हामीले केही सिक्नु पर्दछ । ”

पृथ्वीनारायण क्याम्पसका निमित्त क्याम्पस प्रमुख मीनराज लम्सालले कोलिनले विसं २०२४ मा क्याम्पसमा अध्यापन गरेको बताउनुभयो ।

कोलिन लामो समयदेखी पोखरा —१८ लामागाउँमा बस्दै आउनुभएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई पोखराको हरियोखर्क अस्पतालमा भर्ना गरेर उपचार गरिएकामा शनिबार बिहान ८७ वर्षको उमेरमा निधन भएको थियो । कोलिनको श्रद्धाञ्जलीपछि क्रिश्चियन परम्परा अनुसार आजनै पोखराको गाइघाटमा अन्तिम संस्कार गरिएको छ ।

Comments
Loading...