भूकम्प पीडितको उद्धार, राहत र पुनःस्थापना युद्धस्तरमा :महासचिव गुरुङ

हिमाली आवाज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले जाजरकोट भूकम्प पीडितहरुको उद्धार, राहत र पुनःस्थापनाको काम युद्धस्तरमा भइरहेको बताउनुभएको छ ।

पोखरामा सोमबार प्रेस सेन्टर कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले सरकारले भूकम्प प्रभावितको समयमै प्रभावकारी रुपमा उद्धार सम्पन्न गरेको र अब युद्धस्तरमा राहत वितरण र पुनःस्थापनाको काम सुरु हुने जानकारी दिनुभयो । भूकम्प प्रभावितको राहत र पुनःस्थापनाको काम एकद्धार प्रणालीबाट गरिने बताउनुभयो ।

महासचिव गुरुङले भन्नुभयो,“ सरकारका अङ्गहरु,राजनीतिकदल र मित्र राष्ट्रहरुबाट राहतका लागि सहयोग र अनुदान दिने अभियान चलिरहेको छ । राज्यको नेतृत्वमा एकद्धार प्रणालीबाट राहत वितरण सुरु गर्ने र राज्यले योजना बनाएर पुनःस्थापनाको काम अघि बढाउने निर्णय गरेका छौँ ।”

महासचिव गुरुङ माओवादी केन्द्रले भूकम्प पीडितका लागि पार्टी केन्द्रबाट रु ५० लाख सहयोग गर्ने र प्रत्येक प्रदेश समितिबाट रु एक लाखका दरले सहयोगका लागि आग्रह गरिएको जानकारी दिनुभयो ।

महासचिव गुरुङले बर्तमान सत्ता गठबन्धन र सरकारका विषयमा विभिन्न आशङ्का उत्पन्न गराउन खोजिएपनि सरकार सुरक्षित रहेको बताउनुभयो ।

सरकार र गठबन्धन टुटाउँदै अस्थिरता उत्पन्न गराउने प्रयास असफल भएको उल्लेख गर्नुभयो । कोशी प्रदेशमा अस्थिरताको बाटो खोजिएपनि केन्द्रको गठबन्धन कायम राखेर जाने निर्णयले स्थिरता कायम गर्ने गुरुङको भनाई छ ।

गुरुङले भन्नुभयो,“कोशी प्रदेशमा त्यहाँको प्रदेशसभाको अङ्कगणितलाई हेरेर अस्थिरता उत्पन्न गराउन खोजिएको थियो । पहिले त्यहाँ सरकार गठनमा समस्या भएपनि अहिले पुनः स्थिरताको बाटो सुरु भएको छ ।सहमति र समझदारीबाट अघि बढेकाले अहिलको गठबन्धन र सरकार सुरक्षित छ । ”

नेकपा(माओवादी केन्द्र)को जोड सङ्घीय तथा प्रदेश सरकारहरुमा समेत राष्ट्रिय सहमतिको सरकारको गठन रहेपनि सफल नभएको उहाँले जिकिर गर्नुभयो ।

“केन्द्रमा नसकेपनि प्रदेशमा राष्ट्रिय सहमातिको सरकार बनाउन खोजेका थियौँ । तर त्यसमा सफलता मिलेन ।” गुरुङले भन्नुभयो ।महासचिव गुरुङले लामो समयदेखी रोकिएको संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक आगामी हिउँदे अधिवेशनमा संसदमार्फत टुङ्गोमा पुग्ने बताउनुभयो । टिआरसीको अन्तरबस्तुमा सबै सहमत भएपनि प्रक्रियामा अल्झाउने प्रयास गरिएको उहाँको भनाई छ ।

महासचिव गुरुङले पार्टीले सञ्चालन गरिरहेको रुपान्तण अभियानले पार्टीलाई चलायमान र गतिशील बनाएको बताउनुभयो ।“पार्टीले सुरु गरेको जनतासँग माओवादी रुपान्तर अभियानले पार्टी चलायमान बनेको छ । संगठन विस्तार र सुदृढीकरणका काम भइरहेका छन् । पार्टीभित्र र बाहिर समेत नयाँ सञ्चार भएको छ। ” उहाँले भन्नुभयो ।

Comments
Loading...