हिमाली आवाज । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चीन सरकारले जाजरकोट भूकम्पपीडितका लागि प्रदान गरेको राहत सामग्री ग्रहण गर्नुभएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज आयोजित आपत्कालीन सहयोग हस्तान्तरण समारोहमा नेपालका लागि चिनियाँ राजदुत छन् सोङले चीन सरकारले प्रदान गरेका राहत सामग्री उपप्रधानमन्त्री श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको हो ।
चीनले पीडितका लागि प्रदान गरेका उच्च गुणस्तरका ब्लाङकेट, टेन्टलगायतका सामग्री चीनको छेन्दु विमानस्थलबाट दुई वटा विमान मार्फत आज पोखरा विमानस्थलमा ल्याइएको हो ।

सहयोग हस्तान्तरण समारोहमा उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले नेपाललाई सङ्कट पर्दा जहिले पनि चीनबाट सहयोग प्राप्त हुने गरेको बताउनुभयो । नेपाल र चीनबीचको इतिहासदेखीको सम्बन्ध सार्वभौमसत्ता, स्वतन्त्रता र पारस्परिक हितमा आधारित रहेको उहाँले बताउनुभयो ।
उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो,“नेपालको आर्थिक विकाससँगै सङ्कटको बेला जहिले पनि चीनले सहयोग गर्दै आएको , चीनबाट सङ्कटमा हामीलाई सहयोग र सहानुभूति प्राप्त भएको छ । विसं २०७२ को विकासकारी महाभूकम्प, कोभिड महामारी र अहिले जाजरकोट भूकम्पका बेला समेत चीनसँगै छ ।”
नेपालका लागि चिनियाँ राजदुत छन् सोङले दुई देशबीचको सम्बन्ध संकटमा समेत एकअर्कालाई सहयोग गर्दै अघि बढेको बताउनुभयो । केही दिनअघि गएको भूकम्पबाट भएको क्षतिप्रति उहाँले दुःख व्यक्त गर्नुभयो । “दुःखको बेला नेपाली जनता र नेपाल सरकारसँग चीन साथमा छ ।” उहाँले भन्नुभयो ।
चिनियाँ राष्ट्रपतिले नेपालमा भूकम्पबाट भएको क्षतिप्रति घटना लगत्तै नेपालका राष्ट्रपति र प्रधानमन्त्रीलाई समवेदना सन्देश पठाएर पीडित परिवारप्रति सहानुभूति प्रदान गरेको राजदुत सोङले बताउनुभयो ।
चीनद्धारा भूकम्प पीडितका लागि प्रदान गरिएका राहत सामग्री सशस्त्र प्रहरीले प्रभावित क्षेत्रमा पठाउने तयारी गरेको कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरले जानकारी दिनुभयो ।