पोखरामा रगत अभाव टार्न एभरेस्ट एफएमले रक्तदान कार्यक्रम गर्दै

हिमाली आवाज । पोखराबाट प्रशारण हुने एभरेस्ट एफएम ९३ मेगाहर्जले यही मंसिर ९ गते शनिबार रक्तदान कार्यक्रम गर्ने भएको छ ।
एभरेस्ट मिडिया हाउस प्रालि द्वारा सञ्चालित एभरेस्ट एफएमले आफ्नो वार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम गर्न लागेको हो ।

बडादशैं, तिहार, नेपाल सम्वत र छठ पर्वका कारण अन्य संघसंस्थाले नियमित रक्तदान नगर्दा पोखरामा रगतको अभाव भइरहेको परिस्थितिलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम गर्न लागेको रेडियोले जनाएको छ ।

‘नियमित रक्तदान गरौं, जीवनबचाउने अभियानमा सहभागी बनौं’ भन्ने मूल नाराका साथ रक्तदान कार्यक्रम गर्न लागिएको एभरेस्ट एफएम तथा एभरेस्ट आवाजका सम्पादक दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । रक्तदान कार्यक्रम रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा हुने उहाँले बताउनुभयो ।

श्रेष्ठले भन्नुभयो,‘एफएमले आफ्नो वार्षिक तालिका अनुसारै रक्तदान कार्यक्रम गर्न लागेको हो । चाडपर्वका कारण नियमित रक्तदान कार्यक्रम नहुँदा हुन सक्ने रगतको अभावपूर्ती गर्न पनि यो कार्यक्रम सहयोगी हुनेछ भन्ने हाम्रो विश्वास हो ।’

रक्तदान कार्यक्रमको तयारी शुरु भएको रेडियोले जनाएको छ । रेडियोले ‘म त रक्तद्धान गर्दैछु, तपाईं नि?भन्ने नारासहित रक्तदान कार्यक्रमको क्याम्पेनिङ पनि शुरु गरिसकेको सम्पादक श्रेष्ठले बताउनुभयो ।

यसअघि रेडियोले अघिल्लो वर्ष गरेको आकस्मिक रक्तदान कार्यक्रममा १५१ युनिट रगत संकलन गरेर गण्डकी प्रदेशकै सर्बाधिक रगत संकलकको रुपमा पुरस्कृत भएको थियो भने पहिलो वर्ष गरेको रक्तदान कार्यक्रममा १८८ युनिट रगत संकलन गरेको थियो ।एभरेस्ट मिडिया हाउसले एभरेस्ट एफएम ९३ मेगाहर्ज र एभरेस्ट आवाज डटकम सञ्चालन गर्दै आएको छ ।

Comments
Loading...