मर्दी हिमाल पदमार्गको लोक्याम्पमा बन्ने भयो पर्यटक सूचना केन्द्र

कृष्ण दवाडी
हिमाली आवाज । कास्की जिल्लाको माछापुच्छ«े गाउँपालिकामा अवस्थित मर्दी हिमाल पदमार्ग पछिल्ला वर्षमा पर्यटकको रोजाईमा पर्ने गरेको छ ।

मर्दी हिमाल सहित माछापुच्छे, अन्नपूर्ण साउथ, हिमचुली, अन्नपूर्ण प्रथम, गङ्गापूर्ण, गन्धर्व चुली लगायत आधा दर्जनभन्दा बढी हिमाल नियाल्ने अवसर पदयात्रामा मिल्ने भएकाले बाह्य तथा आन्तरिक पर्यटकको आकर्षण बढेको छ ।

छोटो समयमा साहशिक पदयात्राको आनन्द लिन पाइने भएपछि पर्यटकहरु मर्दी उक्लिने गरेका छन् । एक दशकअघि सम्म गुमनाम जस्तै रहेको मर्दी पदयात्रामा पर्यटक बढेसँगै पर्यटकीय पूर्वाधार निर्माण सुरु गरिएको छ ।

यस पदमार्गमा आउने पर्यटकहरुलाई आवश्यक सूचना तथा जानकारी प्रदान गर्ने उद्धेश्यले माछापुच्छ«े गाउँपालिकाले पदमार्गको लोक्याम्पमा पर्यटक सूचना केन्द्र निर्माण सुरु गरेको छ ।

देश विदेशबाट पदयात्रामा पाउने पर्यटकलाई व्यवस्थित गर्ने र उनीहरुलाई आवश्यक जानकारी प्रदान गर्ने उद्देश्यले केन्द्र निर्माण अघि बढाइएको हो ।

पालिकाको ५५ प्रतिशत र जीविकोपार्जनको लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) ले ४५ प्रतिशत लगानी गरी रु ३० लाख लागतमा सूचना केन्द्र निर्माणको काम सुरु भएको गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार सूचना केन्द्रबाट पर्यटकलाई पदमार्गका बारेमा आवश्यक जानकारी तथा पर्यटकको तथ्याङ्क संकलनमा सहयोग पुग्नेछ ।
उपाध्यक्ष अधिकारीले भन्नुभयो,“मर्दी ट्रेकिङ रुट अहिले पदयात्रा रुचाउने आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाइमा परेको छ । पदयात्रामा आउने पर्यटकलाई आवश्यक जानकारी तथा सूचना प्रदान गर्नका लागि सूचना केन्द्र निर्माण सुरु गरेका छौँ ।”

गाउँपालिकाले पर्यटक सूचना केन्द्र निर्माणसँगै स्वदेशी तथा विदेशी पर्यटकलाई सहज हुने विश्वास लिइएको छ । पर्यटकीय गतिविधि बढेसँगै मर्दी पदयात्रामा वर्षेनी नयाँ होटल तथा रेष्टुरेन्टहरु थपिनेक्रम समेत बृद्धि भएको छ ।

सूचना केन्द्रबाट मर्दी ट्रेकिङरुटको भौगोलिक अवस्था, यात्राका क्रममा घुम्नुपर्ने स्थान, यात्रामा लाग्ने समय, आवासको व्यवस्थासँगै पर्यटकको सुरक्षित र सहज यात्राको विषयमा आवश्यक जानकारी प्रदान गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपिकृष्ण अर्यालले जानकारी दिनुभयो।

पोखराबाट २२ किमी दूरीमा रहेको माछापुच्छ«े गाउँपालिकाको घलेल हुँदै कालिमाटी तथा सिदिङसम्म जीपबाट पुगेर मर्दी पदयात्रा सुरु हुन्छ । जङ्गलको बाटो हुँदै उकालो चढेर दुई हजार ९७० मिटर उचाइमा अवस्थित लो क्याम्प पुगिन्छ ।

माछापुच्छ«कै धम्पुस तथा अन्नपूर्ण गाउँपालिकाको काँढेबाट समेत पोथना,अष्ट्रेलियन क्याम्प, प्रितम देउराली, फरेष्ट क्याम्प हुँदै लो क्याम्पसम्म पर्यटक पुग्दछन् । लो क्याम्पबाट बादलडाँडा, हाइक्याम्प, ‘भ्यु पोइन्ट’ हुँदै चार हजार ५०० मिटर उचाइको मर्दी हिमाल आधार शिविर पुगिन्छ ।

Comments
Loading...