हिमाली आवाज । पोखराको फेवातालमा माछाका भुरा छाडिएको छ । विश्व मत्स्य दिवसका अवसरमा पारेर आज मत्स्य विकास केन्द्र मिर्मि स्याङ्जाले स्थानीय नैनी, सहर जातका भुरा छाडेको हो ।
तालमा ६० ग्राम तौल माथिका १२ हजार भुरा छाडिएको मत्स्य विकास केन्द्रका प्रमुख रविनसन अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार फेवाताको प्राकृतिक सन्तुलन बढाउन र जलारी समुदायको आयआर्जनमा सघाउ पु¥याउनका लागि भुरा छाडिएको हो ।
गण्डकी प्रदेशमा वार्षिक दुई हजार मेट्रिकटन माछा उत्पादन हुने गरेको अधिकारीले जानकारी दिनुभयो । नेपालमा विभिन्न दुई सय ५२ जातका माछाका प्रजाति पाइने गरेकामा दुई सय ३६ जात यहीकै रैथाने रहेको बताइन्छ । नेपालमा मात्र पाइने १६ जात छन् ।
कार्यक्रममा गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव सहदेवप्रसाद हुमागाईले गण्डकी प्रदेशमा मत्स्य पालनको राम्रो सम्भावना रहेको बताउनुभयो । उहाँका प्राकृतिक जलाशय तथा नदीनालाहरुमा माछापालन गरी राम्रो आयआर्जन गर्न सकिने उहाँले बताउनुभयो ।
सचिव हुमागाईले भन्नुभयो,“ हाम्रो प्रदेशमा प्रशस्त प्राकृतिक जलाशय तथा नदीनालाहरु रहेकाले माछापानलको राम्रो सम्भावना छन् । माछा गण्डकी प्रदेश बाहिर पनि निर्यात गर्न सकिने र प्रशस्त आयआर्जनको सम्भावना रहेपनि राम्रोसँग काम गर्न सकेका छैनौँ । अब हाम्रा निकायहरुले प्रदेश र स्थानीय सरकारले मत्स्य विकास रणनीति बनाएर सोही अनुसार कार्यनीतिसहित अघि बढ्नु आवश्यक छ । ”
पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालयका निमित्त महानिर्देशक डा बालकुमार श्रेष्ठले मत्स्य विकासका लागि माछापालक कृषक तथा जलारी समुदायलाई सहयोग गर्दै आएको बताउनुभयो । फेवातालको माछा संरक्षण र व्राण्डिङ गर्नसके तालमा आश्रित जलारी समुदायको जीवन आर्थिक रुपमा सवल हुने श्रेष्ठले बताउनुभयो ।

श्रेष्ठले भन्नुभयो,“फेवातालमा विभिन्न फरकफरक प्रकृतिका माछालाई व्यवसायिकरुपमा पालन गर्नसकेको अवस्थामा पर्यटकका लागि समेत थप आकर्षण बन्न सक्दछ । मत्स्य पालन र यसको बजारीकरणमा हामी सहयोग गर्न तयार छौँ ।”
हर्पन फेवा मत्स्य सहकारीका अध्यक्ष सोमबहादर पोडे विगतमा रैथाने माछा पाइने गरेपनि अहिले फेवातालमा स्थानीय माछा हराइरहेको बताउनुभयो । तालमा माछा उत्पादन घट्दै जाँदा जलारी समुदायलाई परिवार पाल्न समेत मुस्किल पर्दै गएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो,“बाढी, पहिरो लगायतका कारणबाट माछालाई हानी पुगेको छ । तालमा माछा घ्टदै गएको छ । माछापालनका लागि केज अभाव छ । सरकारले जलारी समुदायलाई सहयोग नगर्ने हो भने विस्थापित हुनुपर्ने बाध्यता छ ।”
पशु सेवा तालिम केन्द्र कास्कीका प्रमुख डा ग्रिष्म न्यौपानले स्थानीय माछा संरक्षण सम्बन्धी कार्यहरुलाई प्राथमिकता नदिएको खण्डमा प्राकृतिक जलाशयहरुमा पाइने स्थानीय माछा लगायत जलीय जीवहरु लोप हुन सक्ने बताउनुभयो ।
कार्यक्रममा पोखरा महानगर कृषि तथा आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले महानगरले समेत माछाका भुरा छाड्ने लगायत स्थानीयवासीका लागि सहयोग पुग्ने कार्यक्रम गर्दै आएको बताउनुभयो । उहाँले स्थानीय आश्रित समुदायलाई जलिय जीव संरक्षणमा मुख्य जिम्मेवार बनाउनुपर्नेमा जोड दिनुभयो ।
पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालयका प्राविधिक अधिकृत सुरेशकुमार श्रेष्ठले माछा पालनबाट धेरै लाभ लिन सकिने भएकाले अव्यवस्थित माछा मार्न रोक्ने तथा नियमन गर्नुपर्नेमा जोड दिनुभयो ।