हिमाली आवाज । गण्डकी प्रदेशको राजधानी सहर पोखरामा यही मङ्सिर ७ देखी १५ गतेसम्म सञ्चालन हुने ‘केपी ओली कप राष्ट्रिय टी—२० क्रिकेट’ प्रतियोगितामा १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।
प्रतियोगिता आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीले आज पोखरामा पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।
पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगितामा सात प्रदेशका सात टिम,विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ र आयोजक मदन भण्डारी एकेडेमीको दुई गरी १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
एकेडेमीका संरक्षक समेत रहनुभएका पूर्वप्रधानमन्त्री ओलीको सम्मानमा उहाँको नाममा राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता गर्न लागिएको एकेडेमीका अध्यक्ष धुव्र आचार्यले बताउनुभयो ।
प्रतियोगिताको च्याम्पियन टोलीलाई रु पाँच लाख, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी उपविजेता टोलीलाई रु दुई लाख ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार दिइने अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसी)को नियमानुसार खेलाइने प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ले नगद रु ३० हजार, ‘बेस्ट बलर’रु २० हजार, र ‘म्यान अफ द म्याच’ले नगद रु पाँच हजार पुरस्कार पाउनेछन् । खेल सम्पन्न गर्नका लागि रु ७५ लाख खर्च लाग्ने र विभिन्न व्यापारिक प्रतिष्ठान, स्थानीय सरकार लगायतबाट सहयोग सङ्कलन गरिएको आयोजकले जनाएको छ ।
पोखरामा हुने क्रिकेटको राष्ट्रियस्तरको प्रतियोगिताले नयाँ खेलाडी उत्पादन तथा खेल कौसल प्रदर्शनका लागि सहयोग पुग्ने बताइन्छ । एकेडेमीले खेल पर्यटनलाई आधार बनाई उत्पादन रोजगार र समृद्धिको यात्रामा समाजका हरेक क्षेत्रमा प्रतिस्पर्धाको आधारमा श्रेष्ठता हासिल गर्नुपर्छ भन्ने मदनको विचारलाई आत्मसात गर्दै आएको अध्यक्ष आचार्यको भनाई छ ।
उहाँले भन्नुभयो,“अनुशासित, राष्ट्रप्रेमी, मेहनती र प्रतिस्पर्धी नागरिक उत्पादन गर्न बालबालिकादेखी युवासम्मलाई खेलकुदमा आकर्षित गर्न विभिन्न खेल गतिविधिहरु, खेल प्रशिक्षण र प्रतिस्पर्धाहरु आयोजना गर्ने गरेका छौँ । यसबाट स्वस्थ नागरिक सहित देशका लागि आवश्यक राष्ट्रिय अन्तर्राष्ट्रिय क्षमताका खेलाडी उत्पादनमा सहयोग पुग्नेछ ।”
एकेडेमीमा खेलकुदको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक, निर्णायक, गुुरुवर्ग र खेललाई माया गर्ने खेलप्रेमीहरु आवद्ध रहेको बताइन्छ ।
‘सबैका लागि खेलकुद’को नारा सहित विसं २०६६ पुस १७ गते एकेडेमीको स्थापना भएको थियो । प्रतियोगिताको उद्घाटन एकेडेमीका परिकल्पनाकार एवं संरक्षक पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेे निश्चित भएको आयोजकले जनाएको छ ।