पोखरामा सम्पन्न ‘फिस्टेल रेसिङ कप’को उपाधि अजयलाई

हिमाली आवाज । पोखरा रङ्गशालामा आज सम्पन्न ‘फिस्टेल रेसिङ कप २०२३’ को उपाधि अजयले तामाङले जित्नुभएको छ ।

तामाङले ३८ जना प्रतियोगिहरुलाई पछि पार्दै उपाधि सहित रु एक लाख, ट्रफी पुरस्कार पाउनुभयो । फिस्टेल रेसिङ कप अन्तर्गत यही मङ्सिर ८ गतेदेखी मोटरबाइक दौड प्रतिस्पर्धा आयोजना गरिएको हो ।

नेपाल रेसिङ स्पोर्टस एसोसिएसनको आयोजना तथा भिआर ४६ को समन्वयमा सञ्चालन भएको प्रतियोगितामा सुजन थापा मगर द्धितीय हुँदै रु ७५ हजार पुरस्कार पाउनुभयो । यसैगरी मोहमद फरहान तृतीय भएर रु २५ हजार पुरस्कार ट्रफी र प्रमाणपत्र पाउनुभयो ।

महिलातर्फ पाँच जना वाइकर्स सहभागी भएकामा वर्षा बस्नेत च्याम्पियन हुँदै रु २० हजार पुरस्कार पाउनुभयो । प्रतियोगिताका विजेता खेलाडी काठमाडौँका हुनुहुन्छ । नेपाल रेसिङ स्पोर्टस एसोसिएसनले पहिलो पटक प्रतियोगिता आयोजना गरेको हो ।प्रतियोगितामा बाइकर्सहरुले ‘स्टन्ट’ गर्नुका साथै ‘म्युजिकल शा’े समेत प्रदर्शनीको रुपमा आयोजना गरिएको थियो ।

प्रतियोगिताका विजेताहरुलाई प्रदेश खेलकुद परिषदका उपाध्यक्ष ध्वजकुमार गुरुङ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेशकुमार गुरुङ लगायतले नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र वितरण गर्नुभयो ।

पोखरा रंगशाला भित्रको पिच सडकलाई फिसटेल रेसिङ ट्रयाकको रुपमा घोषणा गरी निरन्तर रुपमा प्रतियोगिताहरु आयोजना गर्ने नेपाल रेसिङ स्पोर्टस एशोसियसनका अध्यक्ष माइकल थापाले प्रतिवद्धता जनाउनुभयो ।

“पहिलो संस्करण भव्यताका साथ सम्पन्न भयो । यो सुरुआतमात्र हो । पोखरा सहित अन्य प्रदेशमा समेत यस्तै प्रतियोगिताहरु आयोजना गर्ने गरी अगाडि बढ्दैछौं । ” थापाले भन्नुभयो ।

Comments
Loading...